अहिले सम्झना आउँछ आफूले अभिभावक ठानेको स्वास्थ्य मन्त्रालयले गरेको विभेदपुर्ण निर्णयकाविरुद्ध धेरै साहस, संघर्ष र हिम्मत जुटाउनु परेको थियो त्यतिबेला। आफ्नै राज्यले गरेको अन्याय र त्यसमाथि मुद्दा दर्ता गर्नुपरेको अवस्था।
भर्खर बिएनएस सुरु गर्दा खुशी र उल्लासकासाथ अध्ययन गर्न कहाँ पाएका थियौँ र। पढाइको चिन्ता एकातर्फ थियो भने अर्कातर्फ मुद्दा, अड्डाअदालत र मन्त्रालय धाइरहनुपर्ने बाध्यता पनि। नर्सिङ विषय आफैँमा सामान्य विषय होइन, राम्रै मेहनत र लगनशिलताको खाँचो पर्दछ। पढाइ र त्यसलाई व्यवहारिक सिकाइमा ढाल्नु पर्ने हुन्छर। तर हामी भने राज्यले गरेको अन्यायकाविरुद्ध बारम्बार विभिन्न निकाय र व्यक्तिहरुलाई घच्घच्याउन जानुपर्ने हुन्थ्यो। यता सँगै बिएनएस सुरु गरेका तर गैरसरकारी सेवा गरेर अध्ययनमा आएका साथीहरु निरन्त्तर एकोहोरो अध्ययनमा लागिरहेका हुन्थे। हामी चाहिँ अदालतकाे कामकालागि कागजपत्र खोज्न र मिलाउनमा तल्लिन हुने गर्दथ्यौँ।
बेलाबेला लाग्थ्याे जागिर राजिनामा गराैँ र एकोहोरो अध्ययनमा नै केन्द्रित भएर बसौँ जस्तो तर फेरि नर्सिङ क्षेत्रमा व्याप्त बेरोजगारी, बढ्दो महंगी सम्झदा हुँदाखाँदाको जागिर राजिनामा गरेर अध्ययन सकिएपछि कहाँ गएर के गर्ने अन्यौल नै हुन्थ्यो।
पीसीएल अध्ययनपश्चात वैदेशिक रोजगारीमा लागेका आफ्नै साथीहरुको तलब, चिल्ला गाडी जिवनशैलीले यता मन पनि घोचिरहन्थ्यो। आफ्नो देशमा बसेर सेवा गर्ने मेरो प्रण कतै गलत त होइन भनेर। जहाँ म उच्च अध्ययनका लागि संघर्ष गर्दै थिएँ।
प्रवेश परिक्षा पास गरि सकेर मन्त्रालयको छात्रवृत्ति कोटामा मनोनयनका लागि निवेदन र कागजात पेश गर्न जाँदा स्वास्थ्य मन्त्रालयले निवेदन लिन ठाडै अस्विकार गरेका ति पल ! अस्विकार पनि मिठो बोलिमा गरिदिएको भए यती याद हुने थिएन सायद। तर कति आएका, किन आएका, याे मिल्दैन, हुदैन भनेपछि यो नर्सहरुलाई भनेको लाग्दैन कि क्या हो? भनेर बारम्बार खाएका हप्काइहरु ताजा नै छन।
बिदाका कागजपत्रहरु मिलाएर पेश गरियो। बिदा भने नपाउने निर्णय गर्यो मन्त्रालयको सचिवस्तरले। फेरि सुरु भयो वकिल खोज्ने ठाउँठाउँ डुल्नु पर्ने, अड्डा अदालत धाउनुपर्ने बाध्यता। सस्तो भरपर्दो र विस्वासिलो वकिल खोज्न कहाँ जाने दिक्क लाग्दथ्यो। राज्यको कुना कन्दरामा ति दुरदराजमा झरी,हिउँद,चाडपर्व केहि पनि नभनि एकोहोरो सेवामा लागिरह्यौ।
आज आएर अध्ययन गर्छु भन्दा राज्यले सौतेलो ब्यवहार देखायो। कहिले काठमाडौंका वकिल त कहिले मुद्दा दर्ता गर्न अदालत धाउँदा विरक्त लाग्थ्यो। तिनै विदेशियका साथिहरु सम्झिएर उनिहरुले जे गरे ठिक गरे भन्ने भान हुन्थ्यो।
मानसिक पिडा, शारिरीक झमेला जस्ता बेदनाका पोका कति छन कति, लेखेर र बोलेर साध्य छैन। तर भर्खर मात्र २०७८ फागुन २० गते गरेको मन्त्रीस्तरिय निर्णयले एक किसिमको तरंग भने पैदा गरेको छ। २०७६ सालमा जुन निर्णय गरेर हामीले उच्च अध्ययनको लागि बार लगाउन खोजिएको थियो त्यसलाई बदर गर्ने उक्त निर्णयले उच्च अध्ययनमा रोक लगाउनेहरु प्रति भने बलियो प्रहार गरेको महसुस भयो।
अध्ययन सुरु गरेका तर हातमा असाधारण बिदाका पत्र पाएका नर्सहरुको हकमा यो निर्णयले पक्कै पनि सकारात्मक असर पार्ने छ भन्ने आशा छ। अँझ खुसी त त्यहाँ लागेको छ अब नर्सिङ क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न खोज्ने सबै तह र तप्काका कर्मचारीहरुको उच्च शिक्षा हासिल गर्ने र व्यक्तित्व विकास गर्ने गर्ने इच्छामा अंकुश भने नलाग्ने नै भयो। नर्सिङ क्षेत्रमा विद्यमान विभिन्न अन्याय र अत्याचारकाविरुद्ध बोल्न एउटा उर्जा र साहस यो निर्णयले प्रदान गरेको महसुस भइरहेकाे छ।
हामीले जति मानसिक, आर्थिक र शारिरीक पिडा खेप्दै ०७६ माघ १४ को निर्णय मान्य छैन भनि हिँडेका थियौँ फलस्वरुप आगामी दिनमा उच्च शिक्षा हासिल गर्न खोज्नेले त्यो पिडा भोग्नु पर्ने छैन भन्ने कुराले आनन्दित तुल्याएको छ। साथै यसले सरकारी नीतिगत निर्णयहरु विना अध्ययन हचुवाको भरमा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ भन्ने आशा पनि जगाएको छ।
(गौतम हाल त्रिवि अन्तर्गत पोखरा नर्सिङ क्याम्पसमा बिएनएस दोस्रो बर्षमा अध्ययनरत छिन्)
लेखकबाट थप:
'निल्नु न ओकल्नुको जागिर'