२०७१ सालमा पिसिएल नर्सिङ तह उत्तीर्ण गरेर लाइसेन्स परीक्षा समेत पास भएपछि रोजगारीको अन्योलमा थिएँ। विदेशमा गएर मनग्य आम्दानी गर्ने सोच कयौंपटक नआएको पनि होइन। तर देशमै केही गर्नुपर्छ भन्ने सोचर विदेश जाने कयौं सोचहरुलाई मेटाउँदै राष्ट्र सेवामा लाग्ने अठोट गरेँ।
२०७२ को पुसदेखि नेपाल सरकारको स्वास्थ्य सेवा तर्फ अनमी पदमा रहि सेवा सुरु गरें। स्वास्थ सेवा ऐन अनुसार तोकिएको सेवा त गरें तर नियमअनुसार नै पाउनु पर्ने अध्ययन बिदा भने पाउन सकिएन। गत वर्ष फाल्गुनदेखि स्नातक तह (बिएनएस) अध्ययन सुरु गरें। तर यो वर्षको पुसमा आएर असाधारण अध्ययन बिदा भनेर स्वीकृत भयो। गत वर्षनै अध्ययन सुरु गरेका केही साथीहरूले अध्ययन बिदा नै पाउनु भयो तर हाम्रो हातमा भने असाधारण अध्ययन बिदाको पत्र थमाइयो। अध्ययन बिदाको आशामा अध्ययन सुरु गरेको तर अहिले आएर असाधारण अध्ययन बिदा पाउँदा आगामी दिनमा यो जगिर गर्ने कि नगर्ने अन्यौलमा छु।
अहिले बिएनएस अध्ययनमा नै अध्ययन बिदा नभई असाधारण अध्ययन बिदा पाएपछी अब मास्टर (एमएन) पढ्नको लागि अध्ययन बिदा पाउने आशा छैन। र सेवाअवधीभरमा जम्मा ४ बर्षको मात्र अध्ययन असाधारण बिदा पाउने प्राबधान रहेको छ। अब अहिले बिएनएस अध्ययनमा नै तीन बर्ष असाधारण बिदा सकिएपछि यहि जागिरलाई निरन्तरता दिएर शैक्षिक योग्यता वृद्धि गर्ने बाटो रोकिने भयो। नत्र भने प्रवेश गरिसकेको सेवालाई राजीनामा गरेर शैक्षिक योग्यता बढाउन तर्फ लाग्नु पर्ने बाहेक अरु उपाय रहेन। स्टाफ नर्स पास गरिसकेका अनमीहरुका लागि राज्यले प्रष्ट नीति नल्याईदिँदा म जस्ता कयौं ग्रामीण नर्सका लागि यो जागिर 'निल्नु न ओकल्नु' को अवस्था भएको छ।
नर्सिङ क्षेत्रमा बढिरहेको बेरोजगारीका बीच रोजगार छु भन्न पाउँदा खुसी त लाग्छ तर अबको अध्ययन के कसो गर्ने भन्ने चिन्ता भने लागिरह्न्छ। राज्यको नीति हामीजस्तो सानो तहको कर्मचारीको विकास र वृद्धिमा बाधा पुग्ने खालको हुनु दुखद कुरा हो। यस्तो नीतिले हामीजस्ता युवाहरू बाध्यतावस विदेसिनु बाहेक अरु विकल्प देखिँदैन। निजी क्षेत्रमा हेर्यो भने पीडा अझ ठूलो छ। सरकारी सेवामा पनि उस्तै अवस्था हुँदा हामी अनमी र नर्सहरुले न्याएका लागि कहाँ जाने?
(गौतम हाल त्रिवि अन्तर्गत पोखरा नर्सिङ क्याम्पसमा बिएनएस प्रथम बर्षमा अध्ययनरत छिन्)