काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य बीमा गरेका बिमितहरूको नि शुल्क उपचार नगर्ने घोषणा गरेको छ।
बीमामार्फत् प्रतिष्ठानले गरेको खर्चको भर्पाई सरकारले समयमै नगरेका कारण प्रतिष्ठानमा आर्थिक कठिनाइ उत्पन्न भएको जनाउँदै बिपीले अब बीमाबाट उपचार नगर्ने बताएको हो।
प्रतिष्ठानले गुणस्तरीय सेवा प्रदान गरेबापत पाउनुपर्ने रकम प्राप्त नगर्दा शिक्षक र कर्मचारीलाई पारिश्रमिक दिन गाह्रो भएको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताए। स्वास्थ्य बीमा सञ्चालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजीकरण गर्न पटक-पटक सरोकारवाला निकायलाई आग्रह गर्दा बेवास्ता गरिएको गिरीले आरोप लगाए।
प्रतिष्ठानले बुधबार सूचना गरी ओपीडी, आकस्मिक तथा अन्तरङ्ग अन्तर्गतको सेवा प्रवाहको सुविधा कटौती गर्ने भएको हो।
आगामी मंगलबारदेखि स्वास्थ्य बीमा गरेकालाई उक्त सेवा सुविधा नदिने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले विस २०७४ साल साउनदेखि स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेकालाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।