काठमाडौं - नेपालमा ६५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने भएको छ। बिहीबार बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको हो। हालसम्म नेपालमा ५०० एमजीको पारासिटामोल उत्पादन हुँदै आइरहेको छ।
बैठकले ६५० एमजीको पारासिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको छ। विज्ञ सल्लाहकारहरुको रायको आधारमा ६५० एमजीको आवश्यकता भएको भन्दै दर्ता गर्ने निर्णय भएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। नयाँ दर्ता हुने पारासिटामोलको मूल्य अन्तर्राष्टिय मूल्यको अनुपातमा तोक्ने निर्णय भएको बताए।
उनले भने, ‘विज्ञ सल्लाहकारहरुको राय ६५० एमजीको नै चाहिन्छ भन्ने आयो। त्यसैले ६५० एमजीको पारासिटामोल दर्ता गर्ने भन्ने निर्णय भयो। मूल्यको सम्बन्धमा छु्ट्टै बढाउने भन्ने होइन। ५०० एमजीको जति छ, त्यसको हाराहारी र अन्तर्राष्टिय सन्दर्भ हेरेर मूल्य तोक्ने निर्णय भयो।’
यस्तै बैठकले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउन मिल्ने गरी स्वीकृति दिएको छ। अब नेपालमा यो खोप आउने बित्तिकै बालबालिकालाई प्रयोग गर्न मिल्ने उनले बताए।
औषधि विशेष सिफारिस अनुमोदन गर्ने, तीन वटा औषधिको स्तर निर्धारण गर्ने विषयमा पनि स्वीकृति प्रदान गरेको सूचना अधिकारी केसीले बताए।
औषधिको बिक्री वितरण संहिता २०७८ स्वीकृत गर्ने विषयमा भने थप छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए। पशुपंछी औषधि व्यवसायी तालिम सञ्चालन सम्बन्धी कार्यविधि २०७८ कानुनको राय लिएर पुनः पेश गरेर अघि बढ्ने निर्णय भएको छ।