काठमाडौं- वातावरण र स्वास्थ्य बीचको अन्तर सम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस बिहीबार मनाइँदै छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्रले विश्व स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा एक विज्ञप्ति जारी गर्दै वातावरण प्रदूषणका विषयमा गम्भीर बन्न सबैमा अनुरोध गरेको छ। विश्व जलवायु परिवर्तनको बढ्दो र विनाशकारी प्रभावकोपरेको भन्दै केन्द्रले प्रत्येक बितेका वर्षलाई हेर्ने हो भने स्पष्ट र थप प्रमाणका साथ कसरी जलवायु संकटले मानिसहरुको स्वास्थ्य र जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ भनि देखाइरहेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलवायु परिवर्तनबाट मानिसको स्वास्थ्यमा पर्ने असरहरूलाई सम्बोधन गर्नका लागि विभिन्न कदमहरू चालेको जनाएको छ। मन्त्रालयले राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना कार्यान्वयन गरेको र जुन स्वास्थ्य क्षेत्रको जोखिम र अनुकूलन मूल्याङ्कनका आधारमा परिमार्जनको चरणमा रहेको जनाएको छ।
यसका अतिरिक्त विभिन्न नीतिहरु जस्तैः राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य क्षेत्र रणनीति लगायतले वातावरणीय स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गरेको छ। मन्त्रालयले हालै सन २०२१ मा ग्लस्गोमा भएको संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको बिकास गर्ने प्रतिवद्धता जनाएको छ।
स्वास्थ्य सेवा संस्थाहरूमा स्वच्छ पानी र सरसफाइमा पहुँच सुनिश्चित गर्न आवश्यक सेवाहरुमा लगानी बढाउन जरुरी रहेको मन्त्रालयको दाबी छ।