काठमाडौं- नेपालमा पुनर्जलीय झोल (ओआरएस)लाई जीवनजलको नाममा चिनिन्छ। जीवनजल नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने पुनर्जलीय झोल बनाउने सोलुसन अर्थात ओरल रिहाइड्रेसन सोलुसन (ओआरएस)को नाम हो। यस्ता ओआरएस नेपालमा अन्य कम्पनीले पनि उत्पादन गर्छन्। विदेशबाट समेत आयात हुन्छ।
नेपालमा यी सबै ओआरएसलाई जीवनजलकै रुपमा चिनिन्छ। जसका कारण ओआरएस र जीवनजल पर्यायावाची शब्द जस्तै बनेको छ। तर पछिल्लो समयमा नेपालमा ओआरएसको उत्पादन बन्द हुने अवस्थामा पुगेको उद्योगीहरुले बताएका छन्।
लागत रकम पनि नउठ्ने भएपछि ओआरएसको उत्पादन बन्द हुने अवस्थामा पुगेको उद्योगहरुले बताएका हुन्। नेपाल औषधि उत्पादक संघ एपोनका उपाध्यक्ष सन्तोष बरालले लागत रकम पनि नउठ्ने नभएपछि उत्पादन बन्द गर्ने अवस्था्मा पुगेको बताए।
सरकारले २०६४ सालमा पुनर्जलीय झोलको मूल्य प्रति प्याकेट १० रुपैयाँ तोकेको थियो। १४ वर्षदेखि पारासिटामोल, पुनर्जलीय झोल लगायत २१ वटा औषधिको मूल्य समायोजन भएको छैन।
उनले भने, ‘पारासिटामोल, स्लाइनका बोतल, पुनर्जलीय झोल लगायत २१ वटा औषधिको मूल्य २०६४ साल यता बढेको छैन। अहिले लागत रकम नै उठ्ने अवस्थामा पुगेको छ। यसले गर्दा पुनर्जलीय झोलको उत्पादन बन्द नै भइसकेको छैन तर बन्द हुने अवस्थामा पुगेको छ।’
उनका अनुसार पारासिटामोल, स्टालाइनका बोतल, पुनर्जलीय झोल लगायत २१ वटा औषधि बजारमा नपाउने अवस्थामा पुगेको उनले बताए। भारतमा पुनर्जलीय झोलको मूल्य ३२ रुपैयाँ छ।