काठमाडौं–पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले अब आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवाको दिशामा अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सम्मेलनको उद्घाटन समारोहमा बोल्दै भट्टराईले अब स्वास्थ्य सेवामात्र भनेर नभई यो थिमलाई बदलेर आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवाको दिशामा अघि बढ्नुपर्ने बताएका हुन्।
उनले स्वास्थ्य पर्यटन, नेपाललाई स्वास्थ्य शिक्षाको हब बनाउनेजस्ता कुराहरु सम्भव भए पनि केही मानिसको सनकीपनका कारण नीतिहरु भड्किएका र गलत ठाउँमा गएको टिप्पणी गरे।
‘स्वास्थ्य शिक्षामा भएको नियोजन, नर्सिङ र अरु शिक्षाको नियोजनले गर्दा विद्यार्थीहरु विदेश पलायन भइरहेका छन्, विदेशी मुद्रा लगिरहेका छन्,’ उनले प्रश्न गरे, ‘कति जनसंख्यामा कति जनशक्ति चाहिन्छ भनेर हामीले आँकलन गरेका छौं, त्यसको उत्पादनमा कति ध्यान दिएका छौं जस्ता कुरामा सम्मेलनले छलफल गर्नेछ।’
संसदको स्वास्थ्य तथा जनसंख्या समितिका सदस्यसमेत रहेका भट्टराईले निरोगी नेपाल अभियानलाई सफल बनाउन एक व्यक्तिले के भूमिका खेल्न सक्छ, राज्यले के दिनसक्छ भनेर पनि छलफल गर्न सुझाव दिए।