काठमाडौं- नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने नीति तथा कार्यक्रमहरु निर्माणका लागि महत्वपूर्ण सुझाव आउने नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन निकै विवादमा तानियो। यद्यपि विवादकैबीच सम्मेलन भने ९ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ।
स्वास्थ्य मन्त्रालयकै सहमति र सहयोगमा सरकारको बजेट अनुसार परिषदले सम्मेलनको आयोजना गरेको भए पनि सम्मेलनलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले बहिष्कार गरेको छ।
स्वास्थ्य मन्त्री विरोध खतिवडा, सचिवहरु डा रोशन पोखरेल र देवकुमारी गुरागाईं, मन्त्रालयका महाशाखा प्रमुखहरु डा मदनकुमार उपाध्याय, डा कृष्ण पौडेल र डा संगीत मिश्राले समेत परिषद्को सम्मेलनलाई बहिष्कार गरेका छन्। सम्मेलनमा मन्त्रीले मन्तव्य राख्नेदेखि महाशाखा प्रमुखले वैज्ञानिक छलफलमा सहभागि हुनेसम्मको कार्यक्रम तय भएको थियो। तर पूर्वनिर्धारित ती कुनै पनि कार्यक्रममा मन्त्रालयबाट मन्त्रीदेखि महाशाखा प्रमुखहरु सहभागी भएनन्।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह पनि सम्मेलनमा सहभागि भएनन्।
मन्त्रीदेखि महाशाखा प्रमुखसम्मले किन बहिष्कार गरे सम्मेलन?
परिषदका एक कर्मचारीका अनुसार कार्यक्रममा मर्यादाक्रम मिलाउनेदेखि कार्यक्रममा कर्मचारीले दिइनुपर्ने भूमिकाहरुमा त्रुटि भएपछि मन्त्री, सचिवदेखि महाशाखा प्रमुखहरु रिसाएका हुन्। 'प्राविधिक र वैज्ञानिक कार्यक्रममा मन्त्री र मन्त्रालयका कर्मचारीभन्दा राजनीतिक दलका नेताहरुलाई बढी ध्यान दिनेक्रममा धेरै स्थानमा त्रुटि हुन पुग्यो', ती कर्मचारीले भने, 'जसका कारण यति महत्वपूर्ण कार्यक्रम विवादमा आउनुका साथै मन्त्रालयसँग परिषदको दूरी समेत बढ्न गयो।'
ती कर्मचारीका अनुसार मन्त्री खतिवडा मर्यादाक्रम नमिलेका कारण नआएका हुन् भने सचिव पोखरेल र महाशाखा प्रमुख भने कार्यक्रमको पहिलो दिन सचिव डा पोखरेललाई सम्मेलनमा नराम्रो व्यवहार गरेपछि त्यसपछिका दुई दिनको महत्वपूर्ण कार्यक्रम बहिष्कार गरेका हुन्।
'सचिवलाई हेप्ने र अवमूल्यन गर्ने काम भएपछि उहाँ रिसाउनु भएको हो,' ती कर्मचारीले भने, 'उक्त कुरा मन्त्रालयका महाशाखा प्रमुखहरुले पनि चाल पाएपछि सबैले सम्मेलन बहिष्कार गर्नु भएको रहेछ।'
सम्मेलनको उद्घाटन कार्यक्रमा सुरुमा मन्त्री खतिवडालाई प्रमुख अतिथिका रुपमा बोलाइएको थियो। तर अन्मत समयमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई प्रमुख अतिथि बनाइएको थियो। संघीय सरकारको स्वास्थ्य मन्त्री खतिवडा र मुख्यमन्त्री पाण्डे एउटै पार्टीका हुन्। पार्टीमा पाण्डे उपाध्यक्ष हुन् भने मन्त्री खतिवडा स्थायी कमिटी सदस्य हुन्।
संघीय सरकार अन्तर्गत परिषद्को कार्यक्रम भएकाले मर्यादाक्रम अनुसार संघीय मन्त्रीको हैसियतमा खतिवडा अगाडि हुन्छन्। तर पार्टीको जिम्मेवारीको आधारमा हेर्दा मुख्यमन्त्री पाण्डे अगाडि हुन्छन्।
कार्यक्रममा मर्यादाक्रममा समस्या पर्ने देखिएपछि अन्तिम समयमा मन्त्री खतिवडा कार्यक्रममा नजाने निर्णयमा पुगेको उनी निकट एक कर्मचारीले जानकारी दिए। मन्त्री खतिवडा नगएपछि राज्यमन्त्री भवानी प्रसाद खापुङले कार्यक्रममा मन्त्रीका तर्फबाट बोल्ने कुरा बोलेका थिए।
सचिव डा पोखरेललाई पहिलो दिनको कार्यक्रममा सहभागि भएका थिए। सो क्रममा उनलाई कार्यक्रम स्थलमा प्रवेश गर्ने समयदेखि नै परिषद्का कार्मचारीले नराम्रो व्यवहार गर्नेदेखि अवमूल्यन गर्ने काम गरेका थिए।
परिषदका कार्यकारी सदस्य सचिव डा प्रदिप ज्ञावालीले मन्त्री र मन्त्रालयका कर्मचारीसँग विवाद नभएको बताए। उनले परिषद र मन्त्रालय सँधै सँगै हातेमालो गर्दै सरकारको नीति अनुसार काम गर्दै आइरहेको जानकारी दिए।
'विवाद भएको भन्ने विषयमा कोहीमा पनि भ्रम नरहोस्। मेरो उहाँहरुसँग कुरा भएको छ। मन्त्री पार्टीको कामले र सचिवले समापन कार्यक्रममा आउने भने पनि अन्तिम समयमा प्रधानमन्त्री कार्यालयमा आकस्मिक काम परेकाले आउन नभ्याउनु भएको हो,' उनले भने।
डा ज्ञवालीले तीन दिनको सम्मेलनमा केही सामान्य समस्या देखिए पनि समग्रमा महत्वपूर्ण सुझाव सहित सम्पन्न भएको जानकारी दिए।
स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ आइतबारबाट सुरु भएको सम्मेलन मंगलबार सकिएको हो।
यस्तो छ सम्मेलनमा जारी भएको ९ बुँदे घोषणा पत्र