काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रहरीलाई आफ्ना विद्यार्थीलाई घर जान अनुमति दिन अनुरोध गरेको छ।
सशस्त्र प्रहरी बले मानव हड्डीहरुसहित प्रतिष्ठानमा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको थियो। उक्त कुरा विज्ञप्ति जारी गर्दै प्रहरीले सार्वजनिक गरेको थियो।
विद्यार्थी प्रक्राउ गरेपछि प्रतिष्ठानले प्रहरीलाई पत्र काट्दै सिन्हा प्रतिष्ठानका विद्यार्थी रहेको र निजले अध्ययनका लागि आवश्यक पर्ने हड्डी (बोन सेट) ल्याएकाले निजलाई आवश्यक सहयोग गरी घर जान अनुमति दिन अनुरोध गरेको हो।
'प्रतिष्ठानमा एमबीबीएर अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी आदित्य सिन्हा भारत घर भई हाल विशेष कारणबस घर जाने क्रममा अध्ययनमा आवश्यक पर्ने सामग्रीसहित लिएर जाँदै गरेको अवस्थामा रानी बोर्डर एरियामा इलाका प्रहरी कार्यालय मोरङको चेक जाँचको क्रममा हिरासतमा रहेको जानकारी प्राप्त भएको हुँदा निज यस प्रतिष्ठानको विद्यार्थी भएको र चिकित्सा शास्त्र अध्ययनमा पुराना बोन सेट पनि आवश्यकता पर्ने हुँदा निजलाई आवश्यक सहयोग गरी घर जान अनुमति दिनुहुन अनुरोध छ', प्रतिष्ठानले लेखेको पत्रमा भनिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछाने सिन्हाबाट १ वटा मानव खप्पर, खुट्टाको हड्डी ३ थान, हातको हड्डी ६ वटा, करङ ७ वटा, बंगाराको हड्डी १ वटा, काँधको हड्डी २ वटा, घाँटीको हड्डी १ वटा, हिपको हड्डी १ वटा, ढाडको हड्डी ८ वटा, औलाको हड्डी ८ वटा र कुरकुच्चाको हड्डी ८ वटा बरामद गरेपछि पक्राउ गरेको जानकारी दिएका छन्।
बिओपी रानीबाट असई प्रभातकुमार गौतमको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। रिक्सामा सवार सिन्हाले कार्टुनभित्र उक्त हड्डी राखेर ल्याएका थिए। थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको गणपति लामिछानेले बताए।