काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा अनियमितता गरेको आरोपमा ल्याब टेक्निसियन धनबहादुर विष्टसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले नगरपालिकाले निर्माण गरेको १३ वटा सडकमा गुणस्तरहीन काम गरेको र मिलोमतोमा भ्रष्टाचार गरेको आरोपमा बुधबार मुद्दा दर्ता गरेको हो।
आयोगले गोदावरी नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत खेमराज विष्ट, देवराज जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुँवर, सब इन्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरूद्ध मुद्दा दायर गरेको जनाइएको छ।
आयोगले तत्कालीन प्रशासकीय अधिकृत खेमराज विष्टलाई ३६ लाख ९१ हजार रुपैयाँ, देवराज जोशीलाई ४५ लाख रुपैयाँ, इन्जिनियर पूर्ण कुँवरलाई ८२ लाख रुपैयाँ र सब इन्जिनियर रामचन्द्र भण्डारीलाई २५ लाख रुपैयाँ बिगो माग गरेको छ।
त्यस्तै, सब इन्जिनियर नरेन्द्र शाहीलाई १७ लाख रुपैयाँ, सब-इन्जिनियर राजेन्द्र भण्डारीलाई ३६ लाख रुपैयाँ, ल्याब टेक्निसियन धनबहादुर विष्टलाई ७४ लाख रुपैयाँ र निर्माण व्यवसायी डम्बर चन्दलाई ८२ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आयोगले अभियोगपत्र दायर गरेको हो।