काठमाडौं- वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गरेको छ। ल्याब सेवा सुरु भएपछि त्यस क्षेत्रका नागरिलाई स्वास्थ्य सेवा पाउन सहज हुने भएको छ।
क्लिनिक, ल्याब, प्रयोगशाला सञ्चालन गर्न एक चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मी खटाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले परीक्षण सेवा उद्घाटन गरेका हुन्।
वीर अस्पतालका लागि प्रस्तावित जग्गा निरिक्षण गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले वैशाख १ गतेबाट एक्सरे तथा ल्याब सेवा सुरु गर्ने बताएका थिए।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले ल्याब र एक्सरे सेवा सुरु भएपछि लामो समयपछि सपनाको केही अंश पूरा हुन लागेको भन्दै खुसि व्यक्त गरेका छन्।
२ वर्ष अगाडिको सपना भर्खरै पूरा भएको उनको भनाई छ। जनताको चाहना अनुसार ल्याब सुरु भएको भन्दै उनले अब फार्मेसी पनि विस्तार गर्नुपर्ने बताए। ठिमी, कागेश्वरी र चागुनारायण बासिन्दालाई लक्षित गरेर सेवा संचालन गरिएको हो।
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले बाचा गरे अनुसार काम सम्पन्न भएको बताए। उनले तत्काल ल्याब र एक्सरे सेवा सुरु गरेकाे भन्दै हप्तामा २ देखि ३ दिन विशेषज्ञ सेवा संचालन गर्ने जानकारी दिए। उनले फार्मेसीको बारेमा मन्त्रालयले सोचिरहेको पनि बताए।
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले यस बिचमा कामले गति लिन नसके पनि अब तिव्रताका साथ कान अघि बढ्ने बताए। प्याथोलोजीका साथै अल्ट्रासाउन्ड सेवा पनि तत्काल सुरु गर्ने उनको भनाई छ।