काठमाडौं- एक महिनादेखि लोडसेडिङ हुँदा डोल्पामा उपचारमा समेत समस्या हुँदै आएको छ। विद्युत प्राधिकरणले डोल्पा अस्पतालमा पनि लोडसेडिङ गरेपछि स्वास्थ्यकर्मीहरु टर्च बालेरै बिरामीको उपचार गर्न बाध्य छन्।
एक महिनादेखि अस्पतालमा पनि लोडसेडिङ हुँदा टर्च बालेर उपचार सेवा दिनु परेको डोल्पा अस्पतालका प्रमुख डा अखण्ड उपाध्यायले जानकारी दिए। एक महिनाअघि डोल्पा सदरमुकाममा विद्युत आपूर्ति गर्दै आएको २ सय किलोवाटको जैरीगढ जलविद्युत आयोजना मर्मत भइसक्दा समेत अस्पतालमा लोडसेडिङ भइरहेको डा उपाध्यायको भनाई छ।
‘दिउँसो घाम लागेको बेला यो समयमा ४ बजेसम्म सोलारले धान्छ। तर रातिको समयमा भने टर्च, मोबाइलले काम चलाउनुपर्छ,’ डा उपाध्यायले भने, ‘एक्स–रे, अल्ट्रासाउण्ड लगाएतका मेसीन चलाउन समस्या छ।
उनले अल्ट्रासाउण्ड गर्न बिरामीहरुलाई दिउँसो घाम लागेको बेलामा बोलाउनुपर्ने वाध्यता रहेको सुनाए। अस्पतालमा ४० केभिएको एउटा जेनेरेटर भएपनि त्यसलाई चौबिसै घण्टा चलाउन बजारमा पर्याप्त मात्रामा तेल नपाइने समस्या रहेको छ।
'जेनेरेटर चौबिसै घण्टा चलाउँदा १० हजार रुपैयाँको तेल लाग्छ, जुन खर्च गर्ने सामथ्र्य अस्पतालको छैन,' डा उपाध्यायले भने 'सिजेरियन डेलिभरीजस्तो आकस्मिक अवस्थाको शल्यक्रियाका लागि भनेर हालै ३० लिटर तेल ल्याएर राखिएको छ। अन्यथा नर्मल डेलिभरि पनि अँध्यारैमा गर्नुपर्ने बाध्यता छ।'
बत्तीको समस्याबारे प्रशासन, विद्युत प्राधिकरण, स्थानीय तह सबैलाई पत्र पठाएरै जानकारी दिए पनि समस्या समाधान हुन नसकेको डा उपाध्यायको भनाई छ।
‘बत्तीको समस्याबारे हामीले प्रशासन, विद्युत प्राधिकरण, स्थानीय तह सबैलाई भन्यौं, तर कसैले पनि समाधान निकाल्नु भएन,’ उनले भने अस्पतालमा भएको पूरानो सोलार मर्मत गर्न खर्चिलो हुने देखिन्छ, नयाँ ल्याउन स्वास्थ्य कार्यालयमा बजेट छैन रे, त्यसैले बत्ती नहुँदा अँध्यारैमा काम गर्न बाध्य छौं’।