काठमाडौं- प्रहरीले दुई नक्कली डाक्टरलाई पक्राउ गरेको छ। मोरङ प्रहरीले डाक्टरको प्रमाणपत्र तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता नै नभई बिरामीको उपचारमा सक्रिय रहेका दुई जनालाई मंगलबार पक्राउ गरेको हो।
मोरङ प्रहरीका अनुसार मोरङको पथरीशनिश्चरे–१ मा श्रीराम पाइल्स क्लिनिक सञ्चालक पर्सनजित बर्मन र सुन्दरहरैंचा–३ गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका सनोड मण्डल पक्राउ परेका हुन्। उनीहरु भारतको दार्जलिङ निवासी हुन्। बर्मन २७ वर्षका छन् भने मण्डल २९ वर्षका छन्।
उनीहरु दुवैले चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलमा दर्ताबिना नै बिरामीलाई ठगी गर्दै आएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुलाई जिल्ला अदालत मोरङबाट इलाजसम्बन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाएको छ।