काठमाडौं– चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तहको सिट निर्धारणको काम अझै टुंग्याउन सकेको छैन।
आयोगले स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा लिएर नतिजा समेत प्रकाशित गरिसकेको छ। तर कलेजहरुका लागि सिट निर्धारण हुन नसक्दा भर्ना प्रक्रिया अगाडि बढ्न सकेको छैन।
शिक्षण संस्थाहरुमा विश्वविद्यालय र सिटिइभिटी दुवैको कार्यक्रम चलिरहेको र त्यसको व्यवस्थापनमा समय लागेकाले सिट निर्धारण हुन नसकेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए।
‘केही शिक्षण संस्थामा विश्वविद्यालय र सिटिइभिटी दुवै कार्यक्रम चलेको रहेछ,’ उनले भने, ‘हामीले शिक्षण संस्थाहरुलाई विश्वविद्यालय वा सिटीइभिटीको कुन कार्यक्रम लिने हो त्यसको निर्णय गरेर आउनुस् भनेका छौं। यो विषय टुंगिन बाँकी रहेकाले केही ढिला भएको हो।’
शिक्षण संस्थाहरुले आफ्नो संस्थामा चलिरहेको कार्यक्रम सिटिइभिटी वा विश्वविद्यालयमध्ये कुन कार्यक्रम चलाउन सम्बन्धन लिने भन्ने विषय नटुंगिएको डा गिरीले जानकारी दिए। आयोगको नियम अनुसार कलेजहरुले शैक्षिक कार्यक्रमका लागि विश्वविद्यालय वा सिटीइभिटी मध्ये एकसँग मात्र सम्बन्ध लिने गरी आएपछि बल्ल यो समस्या समाधान हुने डा गिरीको भनाइ छ।
विश्वविद्यालयका कार्यक्रम चलाउने भएमा सिटिइभिटीको कार्यक्रम चलाउन पाइँदैन भने सिटिइभिटीको कार्यक्रम चलाउने हो भने विश्वविद्यालयको कार्यक्रम चलाउन पाइँदैन। विशेषगरि यो समस्या नर्सिङ कलेजहरुमा बढी देखिएको छ।
यो समस्या टुंग्याउन अझै दुई साताजति लाग्ने उपाध्यक्ष डा गिरीले जानकारी दिए।
आयोगले यो समस्या टुंग्याएपछि मात्र स्नातक तहका लागि विषयगत आधारमा कलेजहरुका लागि सिट निर्धारण गर्नेछ। त्यसपछि भर्ना प्रक्रिया अगाडि बढ्छ।