हाल संसार भरी दृष्टि पर्दाको रोगहरु बढि रहेको देखिन्छ। पर्दाका रोगहरु विभिन्न कारणले हुन सक्छ। जस्तै, वंशाणुगत, मधुमेह, उच्च रक्तचाप, उमेरको कारणले, भिटामिन एको कमी, समय नपुगी जन्मेका नवजात शिशुहरु, आँखामा चोटपटक लागेर आदि। यो रोगको कारण पत्ता लगाई रोकथाम तथा समयमै उपचार गरी सम्भावित अन्धोपनबाट बचाउन सकिन्छ।
लक्षणहरु
- यो रोगमा सुरुमा बिरामीको शिकायत नहुन पनि सक्छ
- एक्कासी आँखा धमिलो हुने
- एउटा मात्र आँखा धमिलो हुने
- राती आँखा नदेखिने
- आँखामा चोट पटक लागेको
- बाक्लो पावरको चश्मा प्रयोग गरिरहेको
गर्नु पर्ने जाँचहरु
- दृष्टि जाँच, पिनहोलबाट दृष्टि जाँच्दा पनि दृष्टि सुधार हुँदैन
- रगतमा चिनिको जाँच, रक्तचाप जाँच
- अप्थाल्मोस्कोपबाट आँखाको भित्री नानीको ग्लो हेर्ने: पर्दा फाटेको, पर्दाको रगतको नशा फुटेको आदिमा अप्थाल्मोस्कोपबाट ग्लो तेजिलो नदेखिने वा पुरै नदेखिने पनि हुन्छ।
उपचार
पर्दाका रोगहरु पर्दारोग विशेषज्ञद्घारा औषधि, लेजर, इन्जेक्सन तथा शल्यक्रिया आदि बाट गरिन्छ। यो रोगको शंका लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पताल पठाउनु पर्दछ। साथै उच्च जोखिममा परेका व्यक्तिहरुले कम्तिमा वर्षको एक पटक पर्दाको जाँच गराउन, जोखिमको उपचार गर्न तथा स्वस्थ ब्यहार अबलम्ब गर्न प्रेरणा दिनुपर्दछ।
निम्न व्यक्तिहरु आँखाको पर्दा रोगको उच्च जोखिममा हुन्छन्:
- परिवारका अन्य सदस्यमा पनि पर्दाको रोग भएका व्यक्तिहरु
- मधुमेह, उच्च रक्तचाप भएका व्यक्तिहरु
- उच्च कोलेस्टेरोल भएका व्यक्तिहरु
- धूम्रपान गर्ने व्यक्तिहरु
- घर बाहिर घाममा धेरै काम गर्नुपर्ने व्यक्तिहरु
- धेरै बाक्लो चश्मा लगाएका व्यक्तिहरु
- पुरा समय नपुगी जन्मेका नवजात शिशुहरु