काठमाडौं– कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ। खास गरेर छिमेकी देश भारतमा दैनिक कोरोना संक्रमण पुष्टि हुने दर बढेकाले त्यसको असर नेपालमा पनि देखापर्ने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढिरहेकाले नेपालमा पनि त्यसको असर देखिने बताए। भारतबाट नेपाल आउने व्यक्तिमार्फत् पनि संक्रमण फैलिन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी भएको सहप्रवक्ता अधिकारीको भनाइ छ।
कोरोना संक्रमितको संख्या बढ्नसक्ने भएकाले त्यसअनुसारको तयारी गर्न भन्दै मातहतका अस्पताल र स्वास्थ्यसंस्थालाई मन्त्रालयले निर्देशन दिइसकेको अधिकारीको भनाइ छ।
कोरोना भाइरसको तेस्रो लहरपछि संक्रमण दर घटेकाले आम सर्वसाधारणले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छाडेकाले संक्रमण फैलिने जोखिम बढी देखिएको अधिकारीले बताए।
कोरोना संक्रमणलाई पुन: बढ्न नदिन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम सुरु गरिसकेको उनको भनाइ छ।
‘हामी विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण वा कुनै नयाँ किसिमको संक्रमण आउँदा थाहा पाउने, त्यसको विश्लेषण गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्ममा सधैं जोडिरहेका हुन्छौं,' न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अधिकारीले भने, 'अन्तर्राष्ट्रिय स्वास्थ्य विधि नियमावलीअनुसार फोकल पर्सनको हिसावले, फोकल इस्यूको हिसावले पनि हाम्रो सबै कुराहरुको जानकारी भइरहेको हुन्छ। अहिले पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढिरहेको छ। विश्वव्यापी रपमा संक्रमण घटेको भए पनि हाम्रो छिमेकमा संक्रमण धेरै बढ्दै गइरहेको छ।'
भारतमा संक्रमण बढ्दै गएको अवस्थामा त्यसको असर चाँडै नेपालमा देखिने अधिकारीको भनाइ छ। 'विशेष त भारतमा संक्रमण बढिरहेको छ। हाम्रोमा एकदम चाँडै त्यही अवस्था आउनसक्छ। हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौं। पहिलो लहरमा भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको अवस्था हामीले भोगेका छौं। दोस्रोमा दुई हप्ता र तेस्रोमा त्योभन्दा पनि कम समयमा भोगेका थियौँ,' अधिकारीले भने, 'अहिले भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ।'
सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए। यद्यपि यस विषयमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने उनको भनाइ छ।
देश अहिले स्थानीय निर्वाचनमा होमिएको अवस्थामा कोरोनाको संक्रमण झनै बढ्ने जोखिम रहेको अधिकारी बताउँछन्। चुनावसँग सम्बन्धित गतिविधिबाट बढ्नसक्ने संक्रमणको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरिएको उनले बताए।