काठमाडौं- अबदेखि एघारौं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा बढुवा नियुक्ति हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले एघारौं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको हो।
'नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११ औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको छ।' मन्त्रिपरिषदका निर्णय सार्वजनिकगर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने।
प्रवक्ता कार्कीले एकैचरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दल तथा सुरक्षाकर्मी लगाएतसवैमा धन्यवाद दिने निर्णय भएको पनि बताए।
सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण आयोजनाका लागि स्वीट्जरल्यान्ड सरकारबाट बाट सरकारबाट प्राप्त हुने करिब ८६ करोड १३ लाख नेपाली रूपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको प्रवक्ता कार्कीले जानकारी दिए। बैठकले राष्ट्र बैंकको नोट धुलाउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गरेको छ।
त्यस्तै जेठ १८ मा नर्वे र १९ गते फिनल्याण्डसँग हुने दुईपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।