काठमाडौं - सरकारले नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशी औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गरी औषधिको आपूर्तिमा सुधार गरिने बताइन्।
आधारभूत र जीवनरक्षक औषधि, अक्सिजन, खोप तथा औषधिजन्य सामग्रीको उत्पादनलाई थप प्रोत्साहन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। साथै उत्पादनमूलक र निर्यातमूलक उद्योगको उत्पादन लागत घटाई निर्यात प्रवद्र्धन गरिने राष्ट्रपति भण्डारीले बताइन्।
यस्ता उद्योगलाई औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युत महसुलमा सहुलियत उपलब्ध गराइने सरकारको घोषणा छ।