काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको बनाइने बताएका छन्। बागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताललाई छुट्याएर दुवैको संस्थागत विकासका लागि प्रदेश सरकारले काम गरिरहेको बताए।
उनले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको अस्पतालको रुपमा विकास गर्ने गरी काम भइरहेको उल्लेख गरे। त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै लागि केन्द्र सरकारबाट स्वीकृति लिएर हेटौँडामा साढे १२ बिघा जमिनको व्यवस्था गरिएको उनले बताए।
उनले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरु भइरहेको बताए। अधिवेशनमा स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेश गरेका थिए।