काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको महाराजगन्ज मेडिकल कलेजमा अध्ययनरत केही विद्यार्थीहरुबीच विवाद भएको छ। विद्यार्थीहरु दुई समूहमा विभाजित भई विवाद गर्दै एक अर्कामाथि आरोपप्रत्यारोप गर्नुका साथै कुटिपटको आरोप लगाइरहेका छन्।
कलेजमा अध्यनरत दुई विद्यार्थीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। क्याम्पसमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत सागर खड्का र बीपर्फयुजन टेक्नोलोजी दोस्रो वर्षमा अध्ययनरत वीरेन्द्र कुँवरले आफूमाथि कुटिपिट भएको भन्दै महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका छन्।
उनीहरुले आफूमाथि सुलभ आचार्य, रमेश बलायर, सूर्यप्रकाश जोशी, शिव सिंह, विकास देव, सुरज भट्ट, सम्राट भट्ट र सुमित बोहरा लगायत समूहले कुटपिट गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन्।
कुटपिट गरेको आरोप लागेकाहरुले पनि सागर खड्का र वीरेन्द्र कुँवर लगायतका समूहले आफूहरुमाथि पहिलेदेखि नै आक्रमणको धम्की दिएको र शुक्रबार राती आक्रमण नै गरेको दाबी गरेका छन्। उनीहरुले पनि प्रहरीमा यस विषयमा जानकारी गराइएको बताएका छन्।
प्रहरीले उनीहरुको विषयमा अनुसन्धान अगाडि बढाएको जनाएको छ। प्रहरीका अनुसार क्याम्पसमा शुक्रबार राती साढे ११ बजे दुई समूहबीच झडप भएको थियो। सो क्रममा विद्यार्थीहरु घाइते भएका थिए।
विवादको वास्तविकता के हो?
कलेजका अन्य विद्यार्थीहरुका अनुसार अनेरास्ववियू र नेविसंघ निकट विद्यार्थीहरुबीच विवाद र आरोप प्रत्यारोप भएको हो। उनीहरुबीच नयाँ होस्टलको विषयलाई लिएर विवाद हुँदै आइरहेको थियो। नयाँ होस्टलमा क्याम्पस प्रशासनले अहिलेसम्म विद्यार्थीहरु राखेको छैन। तर केही विद्यार्थीहरु होस्टलमा बस्न सुरु गरिसकेका छन्।
'अनेरास्ववियूका केही साथीहरुले नयाँ होस्टलमा बस्न सुरु गरेका थिए। नेविसंघका साथीहरुले त्यसको विरोध गर्दै आएका छन्। उनीहरुले होस्टलमा अनेरास्ववियूले कब्जा गर्न खोजेको भन्दै आफूहरु पनि बस्न पाउनुपर्छ भन्दै त्यता गएका थिए। यहीबीच शुक्रबार राती दुई समूह आमनेसामना हुँदा झगडा भएको हो,' कलेजका एक विद्यार्थीले स्वास्थ्यखबरसँग भने, 'दुवै समूहले एकअर्कामाथि आक्रमण गरेको भनेर आरोप लगाउनुका साथै मदिरा सेवन गरेको आरोप लगाएका छन्। यस विषयमा अब सिसिटिभी फुटेज र प्रहरीको अनुसन्धानबाट सत्यतथ्य बाहिर आउला।'
शुक्रबार राती दुई समूहबीच झगडा भएको विषयलाई दुवै समूहले आ-आफ्नो रुपमा व्याख्या गर्दै दाबी गरिरहेका छन्। सागर खड्का र वीरेन्द्र कुँवरले सुलभ आचार्य, रमेश बलायर, सुमित बोहोरालगायतले आफूमाथि आक्रमण गरेको र चोट लागेको दाबी गरेका छन्। कुँवरको हातमा चोट लागेको छ।
सुलभ आचार्य, रमेश बलायर, सुमित बोहोरा लगायतले भने होस्टलमा प्रवेश गर्न खोज्दा अनेरास्ववियू निकट विद्यार्थीहरुले गालीगलौज गरेको र खड्काले हातपात गर्न थालेपछि धकेलाधकेल भएको दाबी गरेको छन्। धकेलाधकेल भइरहेको समयमा वीरेन्द्र कुँवरले टाउको फुटाउने धम्की दिँदै झ्याल खोलेर बाहिर गएको र सिसाको झ्यालमा ईटा प्रहार गर्दा नेविसंघ निकट विद्यार्थी डा सुलभ आचार्य, सूर्यप्रकाश जोशी र सुमितबोहरालाई सिसाका टुक्रा लागेकोले घाइते भएको दाबी गरेका छन्।
'छात्रावास र क्याम्पस प्रशासनको नियम उल्लंघन गरी गैरकानुनी ढंगले छात्रावास भवन अतिक्रमण गरी यो छात्रावास केवल अनेरास्ववियूको हो भन्दै नेविसंघ निकट कोही विद्यार्थीले प्रवेश गरेमा अपहरण गर्ने, ज्यान मार्दिने भन्दै अनेरास्ववियूका अध्यक्ष डा विनय पञ्ज्ञानी, एमबीबीएस अन्तिम वर्ष अध्ययनरत असिम घिमिरे र एमबीबीएस तेस्रो वर्ष अध्ययनरत पुष्पराज भामले धम्की दिँदै आइरहेका थिए,' नेविसंघ निकट विद्यार्थीको दाबी छ, 'नेपाल विद्यार्थी संघ निकट विद्यार्थीले आफू पनि बस्न पाउनु पर्ने भन्दै छात्रावास भवन प्रवेश गर्न खोज्दा अनेरास्ववियू निकट विद्यार्थी वीरेन्द्र कुँवर र पंकज गुप्ताले गालीगलौज गरी हातपात गरेका हुन्।'
विद्यार्थीबीच झगडाका भएको विषयमा क्याम्पस प्रशासनले पनि आवश्यक अनुसन्धान गर्ने जनाएको छ। प्रशासनका एक कर्मचारीले होस्टलका विषयमा झगडा भएकाले होस्टलमा को बस्ने भन्ने विषय छिट्टै टुंगो लगाइने जानकारी दिए।