काठमाडौं– सरकारले दुर्गम क्षेत्रका अस्पतालमा मात्रै एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने भएको छ। ठूला अस्पतालमा कार्यक्रम कार्यान्वयमा नआएपछि सरकारले आगामी आर्थिक वर्षमा दुर्गम क्षेत्रका अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्न लागेको हो।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा यो कार्यक्रम लागू गर्ने बताए।
मन्त्री शर्माले बजेट भाषणका क्रममा भने, ‘दुर्गम जिल्लाका अस्पतालमा काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न एक चिकित्सक एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालनमा ल्याइने छ।’
यसअघि आर्थिक वर्ष २०७७/७८ मा पनि एक चिकित्सक एक स्वास्थ्यसंस्था कार्यक्रम लागू गर्ने घोषणा भएको थियो। गत आर्थिक वर्षको अन्त्यमा १० वटा अस्पतालमा बजेट नै विनियोजन गरेर कार्यक्रम लागू भएको घोषणा पनि गरिएको थियो। राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, प्यूठान अस्पताल, गोरखा अस्पताल, नुवाकोट अस्पताल, गजेन्द्रनारायणसिंह अस्पताल र पाँचथर अस्पतालमा यो कार्यक्रम लागू भएको बताइएको थियो।
तर यी अस्पतालहरुमा कार्यक्रम सफल नभएपछि चालु आर्थिक वर्षमा सो कार्यक्रम नै हटाइएको थियो।
केन्द्रका ठूला अस्पतालहरुमा कार्यक्रम सफल हुने नदेखिएपछि सरकारले आगामी आर्थिक वर्षका लागि दुर्गम क्षेत्रलाई लक्षित गरेर कार्यक्रम ल्याएको हो।
यो पनि:
एक चिकित्सक/एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि: डाक्टरले मात्र भत्ता पाउने
यी १० अस्पतालमा लागू हुँदै ‘एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम