काठमाडौं- उच्च अदालत विराटनगरले कोरोना बिमा वापतको रकम भुक्तानी तत्काल गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा आदेश जारी गरेको छ। कोरोना बिमा वापतको रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा २०७८ भदौ २१ गते रिट दायर गरेको थियो।
३१ जना पत्रकारको बिमा भुक्तानी नभएको भन्दै पत्रकार महासंघ मोरङ शाखाका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिट निवेदनको विषयमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारु र जगतनारायण प्रधानको संयुक्त इजलासले सोमबार अजोड इन्स्योरेन्सलाई तत्काल रकम भुक्तानी गर्न आदेश गरेका हुन्।
‘लिखित जवाफसमेतबाट बिमितको दाबी बिमाङ्क रकम भुक्तानी गर्नलाई नेपाल सरकारबाट रकम प्राप्त भएमा मात्र गर्न सकिने भन्ने व्यहोरा उल्लेख भई आएकोबाट बिमा समितिमा उजुरी गर्नुपर्ने भन्ने लिखित जवाफ जिकिरका आधारमा वैकल्पिक मार्गको अवस्था नै विद्यमान नरही बीमितको दाबी भुक्तानीको संवैधानिक एवम् कानूनी अधिकार हनन् हुन गएको देखिँदा निवेदक दाबी बमोजिम बीमालेख बमोजिमको बिमा रकम निवेदकमार्फत बीमितलाई भुक्तानी गर्न गराउन भनि विपक्षी अजोड इन्स्योरेन्स लि।का नाममा परमादेश जारी गरिएको छ’, आदेशमा भनिएको छ।