तम्बाकु (सुर्ती) र मानव सभ्यताको सम्बन्ध पुरानो छ। इसापूर्व ५००० देखि नै मानिसहरुले सुर्तीको उत्पादन सुरु गरिसकेको मानिन्छ।आधुनिक युगमा सुर्तीलाई अमेरिकाबाट युरोप सम्म पुर्याकउने श्रेय क्रिस्टोफर कोलम्बसलाई जान्छ। सुर्तीको बारेमा थाहा पाएपछि पोर्चुगलका लागि फ्रान्सका राजदुत जँनिकोट (Jean Nicot) ले रानी क्याथरिनलाई सुर्तीका बोट उपहारको रुपमा दिएका थिए। तिनै राजदुतको नाममा पछि गएर तम्बाकुमा पाइने तत्व निकोटिन नामकरण गरियो। सुर्तीजन्य पदार्थको लत लाग्ने मुख्य कारणको रुपमा यहि ‘निकोटिन” लाई लिइन्छ। समयसंगै सुर्तीजन्य पदार्थको प्रयोग विश्व भरि नै फैलियो।
सूर्तीजन्य पदार्थको प्रयोग विभिन्न कुराहरुले निर्धारित गर्दछन। जस्तै:नेपालमा सन् २०१६ मा गरिएको स्वास्थ्य सर्वेक्षणका अनुसार धूम्रपानको शिक्षासँग प्रत्यक्ष सम्बन्ध छ। अशिक्षित हरुमध्ये १३ प्रतिशत महिला र ३८ प्रतिशत पुरुषले धूम्रपान गर्छन भने SCL अथवा सो भन्दा माथिको शिक्षा पाएका १ प्रतिशत महिला र १९ प्रतिशत पुरुषहरुले मात्रै। प्रदेश अनुसार हेर्ने हो भने कर्णाली प्रदेशमा सुर्तीजन्य पदार्थको प्रयोग सबै भन्दा बेसी छ। त्यसैगरी आर्थिक अवस्था सबल भएकाहरुमा सुर्तीजन्य पदार्थको प्रयोग कम पाइएको छ। धुवाँरहित सुर्तीजन्य पदार्थ, जस्तै: खैनी, गुट्खाको प्रयोग महिला भन्दा पुरुषमा धेरै बढी देखिन्छ। निर्धारण जुन कुराले गरेपनि मुख्यतत्व निकोटिनले मानब शरीरलाई दिने “feel good” नै हो। निकोटिनको असर छिटै शरीरमा देखिन्छ तर लामो समय रहदैन। त्यो असर प्राप्त गरी रहनका लागि प्रयोगकर्ताले फेरि प्रयोग गरी राख्छन।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरी १ अर्ब मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्छन। यस्ता पदार्थको सेवनले गर्दा प्रतिवर्ष ६० लाखको मृत्यु हुन्छ। त्यो भनेको हरेक ६ सेकेण्डमा १ जना हुन आउँछ। यही दर कायम रहने हो भने सन् २०३० सम्म हरेक वर्ष ८० लाख भन्दा बढीको सुर्तीजन्य पदार्थका कारण ज्यान जानेछ। नेपालमा सुर्तीजन्य पदार्थ सेवनले हरेक वर्ष २७ हजार १३७ जनाको ज्यान लिने गरेको तथ्यांक छ। मान्छेले पहिला सुर्तीजन्य पदार्थ किन्न खर्च गर्छन, उत्पादनकर्ताले भने जस्तै सेवन गर्छन र त्यसपछि ढिलोचाँडो आफ्नो कुलतको मूल्य चुकाउँछन्। सुर्तीजन्य पदार्थलाई कानुनले वर्जित गरेको छैन,जसरी खाने भनेर उत्पादनकर्ताले भनेको छ, त्यसरी नै खाँदा पनि यसले आफ्ना आधा सेवनकर्ताको ज्यान लिन्छ। आफ्ना प्रयोगकर्ताको मृत्यु हुनु पक्कै पनि सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरुको लागि राम्रो हैन, तर उनीहरुका रणनीतिहरु यती सफल छन् कि अर्को पुस्तासेवन सुरु गर्न तयार भइसक्छ।
सुर्तीजन्य पदार्थले निम्त्याउने व्यक्तिगत स्वास्थ्य सम्बन्धी समस्या, धुम्रपानबाट निस्किने धुवाँले वरीपरि भएका मान्छे र वातावरणमा पर्ने प्रभाव र सुर्तीजन्य पदार्थको उत्पादन, ढुवानी, वितरणका बेला हुने प्रदुषण र प्रयोगपछि उत्पन्न हुने फोहोरमैलाले यसलाई सबैको साझा समस्या बनाइदिएको छ। तपाईले प्रयोग गर्नुहुन्छ भने सबै भन्दा बढी हानी तपाईलाई नै हुन्छ, तर तपाईको वरिपरिको सेरोफेरो पनि त्यसबाट अछुतो रहन सक्दैन।
हालसालै नेपाल सरकारको जनकपुर चुरोट कारखानालाई पुन संचालन गर्ने योजना सार्वजनिक भएको छ, जुन सरकारको प्राथमिकतामा पर्नु हुन्थेन भन्ने लेखकको राय छ। राज्यद्वारा संचालित सुर्तीजन्य पदार्थ उत्पादन गने कम्पनीहरु (State owned tobacco companies, SOTC) ले विश्व भरिको करिब ४० प्रतिशत सुर्तीजन्य पदार्थ उत्पादन गर्छन। हामीले मात्रै किन गर्न नहुने? चीन, थाईल्याण्ड,कोरिया लगायतका देशमा SOTC हरु नै मुख्य सुर्तीजन्य पदार्थ उत्पादनकर्ताहरु हुन्। राज्यले आफैले उत्पादन गर्दा आर्थिक फाइदा हुन्छ र यसको नियमनमा पनि सजिलो हुन्छ भन्ने तर्क पनि सुनिन्छ तर आफै उत्पादन गर्ने र आफै प्रयोग कम गराउने भन्नेमा कन्फ्लिक्ट अफ इन्टरेस्ट (Conflict of Interest) हुन जान्छ। उत्पादन गर्ने नै भए पछि कम्पनी फाइदामा जानको लागि बिक्री बढाउनु पर्ने हुन्छ। हाम्रो जस्तो देशको लागि बजार भनेको आफ्नै देश त हो नि, होइन र?
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको टार्गेट ३ (A) मा सुर्तीजन्य पदार्थको प्रयोगलाई घटाउने कुरा प्रस्ट रुपमा लेखिएबाट पनि यो काम समग्र लक्ष्य प्राप्तिका लागि कति महत्वपुर्ण छ भन्ने कुरा छर्लङ्ग हुन्छ। विश्वब्यापी दिगो विकासका लागि सुर्तीजन्य पदार्थले चुनौती पेश गर्छ भन्ने यो स्पष्ट प्रमाण हो। चुरोटका ठुटाहरु, अझै बढी गुट्खा र खैनीका र्यातपरहरु नेपालमा यत्रतत्र देखिन्छन्। यसरी हुने वातावरणीय असरहरुले सुर्तीजन्य पदार्थ सेवनलाई व्यक्तिगतबाट सकल मानब जातिकै लागि समस्याको रुपमा उभ्याएको छ। यो अब सुर्तीजन्य पदार्थको सेवन गर्नेको मात्रै समस्या हैन, यस्ता उद्योग धन्दामा संलग्नहरुको मात्रै समस्या पनि हैन, यसको बृहत अर्थ छ। सम्पूर्ण जगतकै दिगोपनामा यसले चुनौती प्रस्तुत गरेको छ।
सुर्तीजन्य पदार्थले पुर्यायउने हानी न्यूनीकरण गर्न पहुँच घटाउने, त्यस्ता पदार्थ प्रतिको आकर्षण कम गर्ने, भएका पदार्थहरुलाई पनि सकेसम्म स्वास्थ्यमा कम असर गर्ने तुल्याउने बनाउने रणनीति अपनाउन सकिन्छ।
सुर्तीजन्य पदार्थमा पहुँच घटाउनको लागि मूल्य/कर बढाउने,बिक्रीमा नियमन गर्ने, १८ वर्ष भन्दा सानो, गर्भवती महिलालाई बेच्न नपाइने नियम कडा रुपमा लागु गराउने, कार्यस्थलमा यस्ता पदार्थ प्रयोगलाई नियमन गर्ने र सुर्तीजन्य पदार्थ उत्पादनमै रोक लगाउने सम्मका कदम चल्न सकिन्छ। त्यसैगरी यस्ता पदार्थप्रतिको आकर्षण/अपिल घटाउनको लागि बिज्ञापनलाई नेपालमा निषेध गरिएको छ। स्वस्थ्य सम्बन्धी अभियान/बिज्ञापन, सुर्तीजन्य पदार्थको प्याकेजिंग रंगीचंगी बनाउन नदिने. प्याकेजिगमा स्वास्थ्यमा पर्ने असरसहितको चेतावनी संदेश राख्ने नियमको कडा रुपमा पालना गराउने लगायतका काम पनि महत्वपुर्ण हुन्छन। अहिले बजार भएका सुर्तीजन्य पदार्थहरुमा निकोटिन, टार, pH लगायत स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने अवयवहरुको मात्रा नियमन गर्ने गरेर त्यस्ता पदार्थ प्रयोग गर्नेहरुमा केही हदसम्म हानी न्यूनीकरण गर्न सकिन्छ।
नीति निर्माण सुर्तीजन्य पदार्थ नियन्त्रणको एउटा महत्वपुर्ण पाटो हो तर त्यसको लागु गराउने बाटो कयौं अपेक्षित तथा अनपेक्षित बाधाहरुले भरिपूर्ण छ। सुर्तीजन्य पदार्थ उत्पादक तथा वितरकहरुले नियममा लुपहोलहरु खोज्ने र बजारमा आफ्नो प्रभाव राखी राख्ने गर्छन। उदाहरणका लागि भारतको सर्बोच्च अदालतले सन् २००४ मा “गुट्खा”लाई खाद्य पदार्थ भएको निर्णय गरेको थियो। सन् २०११ मा भारतको राष्ट्रिय खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण अन्तर्गत खाद्य पदार्थमा सुर्तीजन्य कुरा मिसाउन नपाउने नियम बन्यो। यो नियममा टेकेर सुर्ती राखिएका गुट्खाजस्ता पदार्थमा रोक लगाउन राज्य सरकारहरुलाई सहज भयो। तर उत्पादकहरुले एउटा प्याकेटमा पान मसला र तम्बाकु अर्कैमा राखेर बेच्न सुरु गरे। नेपालमा पनि सहजै पाइने “रजनीगन्धा तुलसी” यसकै उदाहरण हो। एउटा प्याकेटमा पान मसला र त्यस संगै जोडिएको अर्को छुट्टै प्याकेटमा तम्बाकु राखिएको हुन्छ।
त्यसै गरी अहिले “Modified risk tobacco Products” (कम हानीकारक हुने दावी गरिएका सुर्तीजन्य पदार्थहरु), इ-सिगरेट (e-cigarette) जस्ता नयाँ उत्पादनहरुको प्रचार हुदैछ र उत्पादन कर्ताहरुले कम असर गर्ने भनेर पैरवी गर्दैछन। तर यसरी प्रचार गरिएका प्रोडक्टहरुले पनि स्वाथ्यलाई बेफाइदा नै गर्ने कुरा अनुसन्धानहरुबाट पुष्टि भैसकेको छ। इ-सिगरेटमा प्रयोग हुने ब्याट्रीको व्यस्थापन र त्यसले गर्ने वातावरणीय प्रभावको पाटो पनि सोचनीय छ।
कानुनी नियन्त्रण मात्रै जादुको गोली (magic bullet) अथवा रामबाण पक्कै पनि हैन. नागरिक समाजहरु नै आफै जागरुक हुनुपर्ने र यसमा सरकारले नियन्त्रणमा सहयोग गर्न क्षमता अभिवृद्धि गरिदिने, स्रोत साधनहरु उपलब्ध गराउने, सुर्तीजन्य पदार्थ उत्पादनमा लागेकाहरुलाई बैकल्पिक रोजगारीका अवसरहरु दिने गर्न सक्नुपर्दछ। यस्ता पदार्थहरु स्वास्थ्यको लागि हानिकारक छन् भन्ने कुरा फैलिदै गएको छ। सेवन छोड्न चाहनेहरुका लागि Quit lines रCessation Clinic हरुको व्यवस्था गर्न तिर पनि ध्यान जानु पर्ने देखिन्छ। पछिल्ला वर्षहरुमा धेरै देशहरुले ट्याक्स(कर) मार्फत सुर्तीजन्य पदार्थको प्रयोग घटाउने नीति लिएको देखिन्छ, जसले गर्दा प्रयोग गर्ने दर घटेको पनि छ।
आज World No Tobacco Day अर्थात् विश्व सुर्तीजन्य पदार्थ रहित दिवस नेपालमा“सुर्तीजन्य पदार्थ त्यागौं: स्वास्थ्य र वातावरण जोगाऔं” भन्ने नाराका मनाइंदै छ। आजको दिन सुर्तीजन्य पदार्थले निम्त्याउने असर बारे जानकारी दिने, आफ्नो स्वास्थ्य सम्बन्धी अधिकारको बारेमा सचेत पार्ने र दिगो विकासमा सुर्तीजन्य पदार्थको नियन्त्रणले पुर्याउने सकारात्मक योगदानका बारेमा चर्चा गर्ने दिन हो। आफ्नो स्वास्थ्य र वातावरणलाई दिगो बनाउन हरेक दिन सुर्तीजन्य पदार्थ रहित बनाउने कि सुर्तीजन्य पदार्थ सेवन गरी राख्ने, प्लास्टिकका र्यातपरहरु र चुरोटका ठुटाहरु फाल्ने, आफुले धुवाँ लिने, आफ्नो परिवार र वरिपरी भएकाहरुलाई पनि त्यो धुवाँ लिन बाध्य पार्ने, रोजाई तपाईको हो। असर सबैलाई पर्छ।
(लेखक सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिममा कार्यरत छन्।)