काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीमार्फत् अघि बढाउने अर्थमन्त्री जननार्दन शर्माको योजनाको पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विरोध गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण नै शर्माले नबुझेको बताए।
उनको प्रश्न छ, 'अन्य मन्त्रालयले ल्याएको कार्यक्रमका आधारभूत कुरा नै अर्थ मन्त्रालयले चलाउन पाउँछ? अर्थमन्त्रालय सुपर मिनिस्ट्री हो?'
आफूले पनि एकपल्ट मन्त्रालय चलाउने अवसर पाएको उल्लेख गर्दै थापाले हरेक मन्त्रालयका आफ्नै कार्यक्रम र योजना हुने बताए। अर्थ मन्त्रालयले दिएको सिलिङमा उक्त योजना कार्यान्वयन गर्न खोजिरहेको हुने उनको भनाइ छ।
बजेटका सिलिङका विषयमा अर्थ मन्त्रालयले छलफल गर्न सक्ने भए पनि आधारभूत कार्यक्रम नै चलाउन भने नसक्ने उनको भनाइ छ।
'स्वास्थ्य बीमाका सन्दर्भमा यो सामाजिक सुरक्षाको कार्यक्रम हो। वर्षौं लगाएर हामीले स्वास्थ्य बीमाको अवधारणा बनाएको हो। यहीँ उभिएर मैले कानुन प्रस्तुत गरेको हो। त्यसमा थप काम गर्नुपर्नेछ,' उनले थपे, 'अर्थ मन्त्रालयले के कार्यक्रम ल्याइदियो अब यो बीमा कम्पनीमार्फत् चलाउने। नेपालले अहिलेसम्म लिएको सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु हो।'
बजेट भाषणमा स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनी मार्फत चलाउने विषय परेपछि स्वास्थ्यखबरले निजी कम्पनीको स्वार्थमा कसरी उक्त विषय बजेटमा आयो भन्ने विषयमा समाचार प्रकाशित गर्दै आइरहेको छ। अर्थमन्त्री जनार्दन शर्मा बीमा बोर्डको स्थायी दरबन्दी संरचना रोकेर निजी कम्पनी भित्र्याउने खेलमा सक्रिय रहेको समाचार स्वास्थ्यखबरले प्रकाशित गरेको छ।
हेरौं यी समाचार:
स्वास्थ्य बीमा बोर्डको स्थायी दरबन्दी रोकेर निजी कम्पनीलाई दिने निर्णय
अर्थमन्त्री जनार्दन शर्माको स्वार्थमा स्वास्थ्य बीमामा निजी कम्पनी भित्र्याउने खेल
बजेटले ल्याएको कार्यक्रम स्वास्थ्य बीमाको मर्म विपरितः डा सेनेन्द्रराज उप्रेती