काठमाडौं-चितवनको बकुलहर रत्ननगर अस्पतालले ६ शय्याको शिशु सघन उपचार कक्ष (एनआइसीयू) सेवा सुरु गर्ने भएको छ।
आगामी सातादेखि सेवा सुरु गर्ने गरी तयारी भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले बताए। दश शय्याको क्षमता भएपनि हाल ६ शय्याबाट सेवा सुरु गर्न लागिएको उनले बताए।
उनले भने, ‘हामीले शय्याहरु सबै जडान गरिसकेका छौँ। वार्डहरु पनि तयार हुँदैछन्। अर्को सातादेखि सेवा सुरु गर्ने तयारी छ।’
यसअघि एनआइसीयू आवश्यक पर्ने शिशुलाई भरतपुर लगायत अन्य अस्पताल रिफर गर्नुपर्ने बाध्यता थियो। जन्मिदा नै आफैँ सास फेर्न नसक्ने र गम्भीर खालका स्वास्थ्य समस्या देखिएका शिशुलाई एनआइसीयूको आवश्यकता पर्दछ।
यस अस्पतालमा मासिक ८० देखि एक सय सम्म महिला सुत्केरी हुने गरेका छन्। ५० शय्याको भएपनि हाल यस अस्पताल ८० शय्यामा सञ्चालित छ।