काठमाडौं- स्वास्थ्य खबरपत्रिकाको वार्षिकोत्सव तथा दशौं हेल्थ अवार्ड काठमाडौंमा हुने भएको छ। गत दुई वर्ष कोभिड भाइरसको महामारीका कारण अवार्ड र वार्षिकोत्सव कार्यक्रम हुन सकेको थिएन।
स्वास्थ्य खबरपत्रिका ११ वर्ष पुगेर १२ वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गर्न लागिएको हो। पत्रिकाले पहिलो वार्षिकोत्सवदेखि नै अवार्ड प्रदान गर्दै आइरहेको छ।
यस वर्ष कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारमा सक्रिए रहेका व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ। अवार्डका विधामा डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, अस्पताल तथा संस्था र कोभिडको समयमा सक्रिय रुपमा खटेका व्यक्ति तथा संस्था रहेका छन्।
स्वास्थ्य खबरपत्रिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रदान गर्दै आएको हेल्थ अवार्ड यो वर्ष पनि भदौमा हुने छ। अवार्डका लागि अवार्ड छनौट कमिटि गठन भई आवश्यक काम अगाडि बढीसकेको स्वास्थ्य खबरपत्रिकाका अध्यक्ष अनिल न्यौपानले जानकारी दिए।
‘स्वतन्त्र निर्णायक कमिटिले अवार्डका लागि आवेदन माग गरिसकेको छ,’ उनले भने, ‘देशभरबाट आएका आवेदनका आधारमा कमिटीले आवश्यक अध्ययन र अनुसन्धान गरी विधागत रुपमा उत्कृष्टको छनोट गर्नेछन्।’
उनका अनुसार कोभिड महामारीको समयमा काठमाडौं उपत्यकाबाहिर तथा ग्रामिण भेगमा रहेर सरकारी सेवामा कार्यरत व्यक्ति र संस्थालाई अवार्डका लागि प्राथमिकता दिइने छ।
नोट: हेल्थ अवार्डमा आवेदन दिने चाहनेले [email protected] मा इमेल गर्न सक्नुहुनेछ।