काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णयको विषयले पार्टीमा विवाद उत्पन्न भएको छ। सरकारमा रहेका मन्त्रीहरुले तत्कालै फिर्ता नहुने अडान लिएपछि पार्टीमा विवाद उत्पन्न भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि मन्त्री फेर्न रुची नदेखाएपछि तत्कालै मन्त्री हेरफेर हुने सम्भावना न्यून भएको बालुवाटार स्रोतले जानकारी दियो।
प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट अधिवेशन चलिरहेको समयमा मन्त्री फिर्ता बोलाउने विषय गर्न नहुने बताएपछि तत्काल मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा नआउने सम्भावना बढेको स्रोतको भनाई छ।
प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान बालुवाटारमा भएको छलफलमा मन्त्री हेरेफेर तत्कालै नगर्ने विषयमा प्रधानमन्त्रीले अडान लिएको स्रोतले जानकारी दियो।
आइतबार बिहान बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले सरकारमा आफ्नो पार्टीले पाएको मन्त्रालयमा मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो। पार्टीले स्वास्थ्यमन्त्री खतिवडालाई फिर्ता बोलाउँदै स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई फुल मन्त्री बनाउने प्रस्ताव गरेको थियो।
तर प्रधानमन्त्रीले उक्त विषय अगाडि बढाउन नचाहेपछि तत्काल मन्त्री हेरफेरको विषय रोकिएको बालुवाटार स्रोतले जानकारी दियो।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्री परिवर्तन गर्ने विषय आफूलाई जानकारी नभएको बताए। उनले सामाजिक सञ्जाल र मिडियमा मात्र खबर आएको तर पार्टीबाट आधिकारिक जानकारी नआएको बताए।
'बजेट अधिवेशन लगायतका महत्वपूर्ण विषय अगाडि बढीरहेको समयमा जिम्मेवार पदमा रहेकाले मन्त्री परिवर्तन गर्ने विषय उठाएजस्तो मलाई लाग्दैन' उनले भने, 'मिडियमा हल्ला आएको थियो। हल्ला नै हो त्यो।'