काठमाडौं– उमेरले ४० वर्ष पुग्न लागेका श्यामकृष्ण (नाम परिवर्तन) डा ज्योतिन्द्र शर्मालाई भेट्न ह्याम्स अस्पताल पुगेका थिए। तर, डा शर्माले उनलाई ठम्याउन सकेनन्।
१८/१९ वर्षको हुँदा श्यामकृष्णको मुटुमा प्वाल परेको पत्ता लाग्यो। तर, उनका अभिभावकसँग उपचार गर्ने पैसा थिएन। डा शर्माको टिमले पैसा संकलन गरेर उनको मुटुको अप्रेसन निःशुल्क गरिदिएका थिए।
झन्डै २० वर्षअघिको यो घटना डा शर्माले बिर्सिसकेका थिए। नबिर्सिउन् पनि कसरी, त्यसयता उनले श्यामकृष्णजस्ता धेरै बिरामीको मुटुको अप्रेसन गरिसकेका छन्।
श्यामकृष्ण मुटुमा फेरि कुनै समस्या भएर डा शर्मालाई भेट्न गएका होइनन्। उनले लगाएको गुण बिर्सिन नसकेर त्यहाँ पुगेका थिए। यसरी निको भएर गएका बिरामी उनलाई भेट्न अस्पताल पुगिरहन्छन्। त्यति बेला उनलाई आफ्नो पेशाप्रति गर्व महसुस हुन्छ।
उनी भन्छन्, ‘बिरामी जब उपचार पाएर घर फर्किन्छन्, खुसी हुन्छु, पछिसम्म पनि सम्झिएर भेट्न आउँछन्। धन्यवाद दिन्छन्। उनीहरूको हाँसोले आनन्द दिन्छ। यही कारण काम गरिरहन आत्मबल आउँछ।’
डा शर्मा कार्डियाक सर्जन हुन्। शहिद गंगालाल हृदय केन्द्रका पूर्व निर्देशक समेत रहेका डा शर्माले हालसम्म पाँच हजारभन्दा बढी बिरामीको मुटुको शल्यक्रिया गरिसकेका छन्।
पाकिस्तान, नेपाल र अष्ट्रियामा चिकित्शा शिक्षा
नेपालमा विद्यालय तहको अध्ययनपछि शर्मा सन् १९९२ उनी एमबीबीएस अध्ययनका लागि पाकिस्तान गए।पाकिस्तान सरकारले नेपाललाई प्रदान गर्ने छात्रवृत्तिमा उनी अध्ययनका लागि पाकिस्तान गएका थिए। उनले सन् १९९६ मा एमबीबीएस अध्ययन पूरा गरेर नेपाल फर्किए।
सन् १९९७ देखि उनले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट एमएस जनरल सर्जरी अध्ययन पूरा गरे। त्यसपछि करिबसात महिना आईओएममा नै कार्डियाक सर्जरी विभागमा काम थाले।
त्रिवि शिक्षण अस्पतालमा काम गर्दैगर्दा डा भगवान् कोइरालाले उनलाई गंगालाल अस्पतालमा आउन प्रस्ताव गरे।
डा शर्माको रुची कार्डियाक सर्जरीमा भएकाले उनी सन् २००१ मा त्रिवि शिक्षण अस्पताल छाडेर गंगालाल अस्पतालमा काम गर्न थाले। त्यहाँ रजिष्ट्रारको रुपमा काम गर्न थालेका डा शर्मा सन् २००३ देखि २००५ सम्म अष्ट्रियाको भियाना जनरल अस्पतालमा पेडियाट्रिक कार्डियाक सर्जरीमा फोलोसिप गरे। दुई वर्षको फेलोसिप सकिएपछि उनी फेरी गंगालाल अस्पताल नै फर्किए।
गंगालाल अस्पतालमा १० वर्ष कार्डियाक सर्जरी विभागको प्रमुख भए।चार वर्ष कार्यकारी निर्देशक भए।उनी दुई वर्षदेखि ह्याम्स अस्पतालमा कार्यरत छन्।
डाक्टर बन्ने चाहनाको विरुद्धमा बुवा
डा शर्मा मकवानपुरको हेटौंडामा २०२७ सालमा जन्मिएका हुन्। उनले मामाघरमा बसेर आधुनिक माविमा कक्षा ५ सम्म पढे। कक्षा ६ देखि आईएस्सीसम्म काठमाडौंको सिद्धार्थ बनस्थली इन्स्टिच्युटमा अध्ययन गरे।
सरकारी स्कुलमा सधैँ प्रथम हुने उनलाई सिद्धार्थ बनस्थलीमा पनि उत्कृष्ठ स्थान ल्याउनुपर्छ भन्ने सोच थियो। सिद्धार्थ बनस्थलीमै पढिरहेका उनका दाइ पनि सधैं प्रथम हुन्थे।
सरकारी स्कुलमा अंग्रेजी विषयबाहेक सबै नेपालीमा पढाइ हुन्थ्यो। सिद्धार्थमा आएपछि नेपालीबाहेक सबै अंग्रेजी भाषामा पढ्नुपर्ने भयो। अंग्रेजी भाषामा कमजोर शर्मालाई पढाएको बुझ्न नै संघर्ष गर्नुपर्यो। ‘मैले जिन्दगीमा सबैभन्दा धेरै मेहनत गरेर पढेको नै ६ कक्षामा होला, सरकारी स्कुलबाट सिद्धार्थ बनस्थलीमा अंग्रेजीमा राम्रो हुन ठूलै संघर्ष गर्नुपर्यो। तर मेरो नेपाली राम्रो थियो।’
उनी प्रथम नभएपनि कहिल्यै तेस्रो हुन परेन। ६ कक्षादेखि१० कक्षामा उनी दोस्रो स्थानमै अडिक रहे। पढाइ राम्रो हुने विद्यार्थीलाई स्कुल, घर परिवार र समाजले पहिल्यै उनीहरुको भविष्य औलाइदिन्थे, ‘पढाइ राम्रो छ, पछि डाक्टर वा इन्जिनियर बन्छ।’
बाल्यकालदेखिनै पढाइ राम्रो हुने मान्छे डाक्टर इन्जिनियर बन्छ भन्ने सुन्दै आएका शर्माले आफूलाई डाक्टर बन्न योग्य व्यक्तिको रुपमा लिन्थे। उनी भन्छन्, ‘म सधैं डाक्टर बन्न चाहन्थे, तर मेरो बुबाले मेडिसिन नपढ्न भन्नुभएको थियो।’
उनका बुबाले डाक्टरी पेसालाई ‘उत्कृष्ट’ मानेका थिएनन्। आफू पनि इन्जिनियर भएको र आफ्ना डाक्टर साथीहरुको दैनिक दौडधुप देखेका बुबाले छोरालाई इन्जिनियर बन्न सुझाव दिएका थिए। उनलाई बुबाले सम्झाउँथे,‘यो दुखीया पेसा हो। जीन्दगीभर अरुको सेवा गरेर बस्नुपर्ने पेसा किन पढ्नू? बरु अमेरिका जा, इन्जिनियरिङ पढ्। डाक्टरको चक्कर छोड्।’
बुबाले इन्जिनियरिङ पढ्न सल्लाह दिएपनि शर्माले मानेनन्। आमाले पनि शर्मालाई नै साथ दिइन्। उनले मेडिसिनबाहेक अरु विषय नपढ्ने अडान लिएपछिबुबाले पनि सहमति नजनाइ सुखै पाएनन्।अनी एमबीबीएस अध्ययनका लागि पाकिस्तान गए।
पहिलो चिकित्सा अभ्यास वीर अस्पतालमा
एमबीबीएस अध्ययन पूरा गरेपछि शर्माले नेपाल आएरै इन्टर्नसिप (प्रयोगात्मक अभ्यास) गरे। जीवनको पहिलो चिकित्सा अभ्यास वीर अस्पतालबाट सुरु भयो। त्यहाँ इन्टर्नसिप गर्दा उनलाई वीर अस्पताल सानो अस्पताल जस्तो लाग्थ्यो। किनकि, त्यतिबेला पाकिस्तानमा एमबीबीएस अध्ययन गरेको शिक्षण संस्था नै १८ सय शैय्याको थियो।
त्यतिबेला सानो अस्पताल भए पनि वीरमा कार्यरत चिकित्सक तथा कर्मचारीले भने राम्रोसँग सेवा दिने गरेको उनले सुनाए। ‘वीर अस्पताल अहिले कस्तो छ भनेर मैले नजिकबाट हेरेको छैन, त्यतिबेला वीरले राम्रो सर्भिस दिएको थियो। कन्सल्टेन्टहरु, रजिष्ट्रारहरु सबै राम्रो थिए।’
पहिलो पटक बिरामीको मुटु छुँदा...
शर्माले आईओएमको प्रवेश परीक्षामा पहिलो नम्बरमा नाम निकालेर एमएस अध्ययन सुरु गरे। उनलाई एमबिबिएस अध्ययन गर्दा नै कार्डियाक सर्जरीमा बढी रुचि थियो। त्यसैले आफू कार्डियाक सर्जन बन्ने लक्ष्य लिएका थिए।
‘एमबीबीएस पढ्दा जब शरीरबारे थाहा भयो, एनाटोमी, फिजियोलोजी पढ्दा, त्यो बेलामा नै मुटु जतिको उर्जावान र अचम्मको अंग अरु छैन भन्ने लाग्यो। जन्मेदेखि नमरुन्जेलसम्म मुटु निरन्तर चल्छ,मुटुको यो संरचनाले मलाई कार्डियाक सर्जन हुन आर्कषित गर्यो,’ उनी भन्छन्।
डा शर्माले एमएस पढ्दै गर्दा कार्डियाक सर्जरी विभागमा आफूभन्दा सिनियरले सर्जरी गरेको देखे।शिक्षण अस्पतालमा रेजिडेन्ट डाक्टर हुँदा पहिलो पटक मुटुलाई नजिकबाट देखेको उनले बताए। ‘म रेजिडेन्ट हुँदा टिचिङ अस्पतालमा हप्तामा एक दिन मंगलबार ओपन हार्ट सर्जरी हुन्थ्यो, मुस्किलले दुई वटा केस ओपनहार्ट सर्जरी गरिन्थ्यो,’ उनले भने, ‘त्यतिबेला धेरै कुरा मिलाउनुपर्ने हुन्थ्यो, भल्भ सर्जरी भएको केस हुँदा मैले पहिलो पटक मुटुलाई नजिकबाट देखेको थिएँ।’
अध्ययन पूरा भएपछि उनले कार्डियाक विभागमा नै काम गरे। आफैँले नेतृत्व गरेर पहिलो पटक कार्डियाक सर्जरी गरे। उनले भने, ‘मैले पहिलो पटक आफैले नेतृत्व गरेर कार्डियाक सर्जरी गरेको केस मुटुको प्वाल परेको बिरामी थियो, सर्जरी गरेर मैले प्वालको उपचार गरेको थिएँ।’जति धेरै बिरामीको सर्जरी गर्दैगयो त्यति नै अनुवभ हुने डा शर्माको भनाइ छ।मुटु अन्य अंगभन्दा फरक र आकर्षण लाग्ने उनी बताउँछन्।
डा शर्माले गंगालाल अस्पतालमा पेडियाट्रिक कार्डियाक सर्जरीमा फोलोसिप पूरा गरेर आएपछि बालबालिकाको मुटुको अप्रेसन गर्न थाले। जब कलिला बालबालिकाको मुटु चिर्नुपर्ने हुन्थ्यो र जटिल अवस्थामा बिरामी बालबालिकाको मृत्युसमेत भएको देख्नुपथ्र्यो, उनलाई निकै दुःख लाग्थ्यो।
कोही बिरामी बालबालिकाको मृत्यु भएको देख्दा र सुन्दा उनलाई असह्या पीडा हुन्छ। आफूले बिरामी बच्चाको मुटु चिर्दैगर्दा आफ्नै घरमा मुस्काइरहेका बालबालिकाको अनुहार देख्थे। उनले एकपटक त बालबालिकाको मुटुको सर्जरी आफूले कहिल्यै नगर्ने निर्णय नै लिन लागिसकेका थिए। यो कुरा उनले भियाना जनरल अस्पतालको आफ्ना प्रोफेसरलाई समेत सुनाए।
उनका प्रोफेसरले डा शर्मालाई सम्झाए– यदी तपाईंलाई प्रत्येक बच्चा मर्दा पीडा हुन्छ भने यु आर द राइट पर्सन, डु इट भने। आफूले अप्रेसन गरेको बच्चा मर्दा पनि चित्त नदुख्ने हो भने त त्यो पेडियाट्रिक सर्जरी गर्न लायक नै नभएको बताए।‘पेडियाट्रिक सर्जन बन्न त प्रत्येक पटक बच्चा मर्दा आफ्नो बच्चाबच्चीको अनुहार देख्नुपर्छ, पेडियाट्रिक सर्जरीका लागि तिमी सही मान्छे हौ,’ उनलाई गुरुले सम्झाए। यसरी उनी आफ्नो निर्णय फिर्ता लिने अवस्थामा पुगे।
बच्चाको सर्जरी ठूलो मान्छेको भन्दा जटिल सर्जरी भएको उनको बुझाइ छ।मुटुमा हुने सामान्य प्वालदेखि रगतनलीमा हुने जटिल समस्याको पनि आफूहरुले सर्जरी गरेको डा शर्मा बताउँछन्। मुटुको बिरामी बच्चाहरुको उपचार पूरा हुन सर्जन मात्र नभइ, नर्सिङ केयर, एनेस्थेसियोलोजिस्ट, बालरोग विशेषज्ञ, पोष्ट अप केयरमा खटिने चिकित्सक तथा नर्स सम्पूर्ण टिम नै संवेदनशील भएर खटिनुपर्ने उनी बताउछन्।
श्रीमतीले नै आफू दोस्रो श्रीमती र कार्डियाक सर्जरी पहिले भनिन्
डा शर्माको परिवारमा श्रीमती, छोरी र छोरा छन्। उनकी श्रीमती सेभ द चिल्ड्रेनमा पार्टनरसिप डाइरेक्टर छिन्।
डा शर्मा आफ्नो पेसामा अत्यधिक समय खर्चिन्थे। कुनै मुटुको बिरामी मर्दा वा अस्पतालको जिम्मेवारीमा रहँदा हुने समस्याहरू आफूभित्र लुकाउन सक्दैनथे। कामको तनाव उनको अनुहारमा देखिरन्थ्यो, जसको महसुस उनको श्रीमतीले पनि गर्थिन्। अनि, कहिले त श्रीमतीले गुनासो नै गर्छिन्। उनले भन्छिन्, ‘म तिम्रो दोस्रो श्रीमती हो, तिमीले कार्डियाक सर्जरीसँग पहिलै बिहे गरिसेको थियौ।’
डा शर्माले कार्डियाक सर्जरीलाई पहिलो प्राथमिकता दिन्छन्। आफ्नो कामलाई श्रीमतीले सकारात्मक रुपमा बुझिदिएको डा शर्मा बताउँछन्। ‘मेरो सफलताको प्रमुख श्रेय मेरो श्रीमतीलाई जान्छ। मेरो सफलतामा मभन्दा बढी उसको हात छ। यदि, श्रीमतीले मेरो घरको विषय, बालबालिकाको विषय म्यानेज नगरेको भए म यो ठाउँमा पुग्दिनथेँ,’ उनी भन्छन्, ‘म बिरामीको सेवा, अस्पताल व्यवस्थापनलगायतको काममै लाग्छु। उनले घर अफिसको काम सबै सम्हाल्नेगरेकी छन्।’
संवेदनशील हुन्छ बच्चाको मुटु अप्रेसन
डा शर्माले हालसम्म करिब पाँच हजार मुटुको अप्रेसन गरिसकेका छन्। उनले कम उमेरमा आठ दिनको शिशुदेखि ८५ वर्षको वृद्धसम्मको अप्रेसन गरे।
वयस्क तथा वृद्धको भन्दा बालबालिकको अप्रेसन गर्दा बढी संवेदनशील हुनुपर्ने डा शर्माको बुझाइ छ।‘सर्जरीमा हरेक पटक एउटै कुरा दोहोर्याउने हो, हात चलाउने हो। तर, मैले हरेक नयाँ बच्चाको अप्रेसन गर्नुअघि एकपटक पढेर जान्थेँ,’ उनी भन्छन्, ‘वृद्ध वा वयस्क व्यक्तिको सर्जरी र बच्चाको सर्जरीमा टेक्निकल डिफिकल्टी नै फरक खालको छ।’
डा शर्माले सर्जरी गरेका बालबालिकाले वयस्क भइसक्दा पनि उनलाई सम्झिए आउँछन्। ‘हामीले १९ वर्षअगाडि मुटुको डबल भाल्भ रिप्लेस गरेको १४ वर्षको बालक अहिले वयस्क भइसकेका छन्,’ उनले भने, ‘मलाई भेट्न नि आएका थिए, पहिला पहिला उपचार पाएका बिरामीहरु अहिले भेट्न आइरहेका हुन्छन्।’ डा शर्माले बिरामीहरु आफूलाई सम्झिएर आउँदा नै चिकित्शा पेशामा लागिरहन उत्प्रेरणा प्रदान हुने बताए।