काठमाडौं- एक किशोरीको पाठेघरमा एक सयभन्दा बढी ट्यूमर फेला परेको छ। उपचारका लागि ब्लूक्रस अस्पतालमा आएकी १८ वर्षीया एक किशोरीको पाठेघरमा साना–ठूला गरी एक सयभन्दा बढी ट्यूमर फेला परेको हो।
अस्पतालमा उनको सफल शल्यक्रिया भएको छ। अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रंगीना लाइकंगबमले दुरबिनको माध्यमबाट ती किशोरीको पाठेघरको ट्यूमरको जटिल समस्याको शल्यक्रिया गरेकी हुन्। शल्यक्रिया सफल भएपपछि उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ।
डा लाइकंगबमले तनहुँ घर भएकी ती किशोरीको जस्तो केश आफ्नो चिकित्सकिय अभ्यासका क्रममा नै पहिलो भएको बताइन्। ‘१८ वर्षीया किशोरीको पाठेघरमा ट्यूमरको जटिल समस्या थियो,’ उनले भनिन्, ‘यस्तो खालको केश मेरो चिकित्सकिय अभ्यासका क्रममा नै पहिलो हो।’
उनले १८ वर्षको उमेरमा यस्तो समस्या हुनु दुर्लभ रहेको जानकारी दिइन्। ‘यो उमेरमा यस्तो धेरै ट्यूमरको समस्या देखिनु भनेको निकै कम व्यक्तिमा हुने समस्या हो,’ उनले भने, ‘ट्यूमरका कारण जटिल समस्यामा रहेकी ती किशोरीको शल्यक्रिया सफल भएको छ। अहिले उनको स्वास्थ्य सामान्य छ।’
शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएको भन्दै किशोरीको अभिभावकले समेत खुशी व्यक्त गरेका छन्।
ट्यूमरका कारण अत्यधिक मात्रामा पेटमा दुखाइको समस्या भोग्नु परेकी ती किशोरीको दुखाइको समस्या समाधान भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।