काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले व्यापारीसँगको सेटिङमा सर्जीकल तथा मेडिकल सामग्रीको खरिद प्रक्रिया अगाडि बढाएको तथ्य बाहिर आएको छ। प्रतिष्ठानले केही निजी व्यापारीसँगको मिलेमतोमा विद्युतीय माध्यमबाट खरिद प्रक्रिया अगाडि नबढाई कागजी प्रक्रिया अगाडि बढाएको विवरण फेला परेको हो।
प्रतिष्ठानले सेटिङमा कागजी खरिद प्रक्रिया अगाडि बढाएपछि सार्वजनिक खरिद अनुगमनको कार्यालयमा उजुरी परेको थियो। कार्यालयले प्रतिष्ठानको खरिद प्रक्रियाका विषयमा अध्ययन गर्दै तत्काले विद्युतीय खरिद प्रणाली अनुसार खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको जेठ २७ गतेको सचिवस्तरीय निर्णय अनुसार प्रतिष्ठानलाई विद्युतीय प्रणाली अपनाउन भनिएको प्रतिष्ठानका एक कर्मचारीले जानकारी दिए।
'सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट विद्युतीय प्रणाली अनुसार खरिद प्रक्रिया अगाडि बढाउने अनुरोधसहितको पत्र आएको छ', प्रतिष्ठानका एक कर्मचारीले भने, 'अख्तियारलाई समेत बोधार्थ राखेर पत्र आएको छ। अब उक्त पत्र अनुसार प्रतिष्ठानले विद्युतीय प्रणाली अनुसार नै खरिदको काम अगाडि बढाउँछ होला।'
ती कर्मचारीका अनुसार पत्रमा विद्युतीय खरिद प्रणाली सञ्चालन निर्दिशका २०७४ को दफा ३५ को उपदफा ३ मा ६० लाख रुपैयाँभन्दा बढीको मालसामान खरिद गर्दा अनिवार्य रुपमा विद्युतीय खरिद प्रणालीको प्रयोग गर्नुपर्नेमा प्रतिष्ठानले लागत अनुमान अनुसार विद्युतीय खरिद प्रणाली अवलम्बन गर्नु पर्ने हो/होइन यकिन गर्न र बोलपत्र दाखिला गर्ने अवधी पनि सार्वजनिक खरिद ऐन प्रतिकुल देखिएको भन्दै विद्युतीउ खरिद प्रणाली सञ्चालन निर्देशिकको प्रावधान अनुसार खरिद कारबाही अघि बढाउने कुरा उल्लेख गरिएको छ।