काठमाडौ- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पतालमा भर्ना भएकी छन्। मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउगरी मंगलबार राति बुटवल ल्याइएकी वली लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएकी छन्।
राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालले जानकारी दिए। उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए।
वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उनले बताए। रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा ढकालले बताए।
संसद् चलिरहेको र वहालवाला मन्त्री भएका कारण प्रदेश सरकारको आग्रहमा राति ११ बजे खत्रीलाई बुटवल पठाइएको जिल्ला प्रहरी प्रमुख एस्पी सुरेश काफ्लेले बताए। उनीविरुद्ध तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी २७ वर्षीया मिना भण्डारी बस्नेतले मंगलबार अभद्र व्यवहारमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी छन्। जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि दर्ता हुन भने सकेको छैन।