काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमा कार्यक्रमलाई निजी कम्पनीलाई दिन नहुने विषयलाई संसदमा उठाउने सांसदहरुलाई जिद्दी बालकको संज्ञा दिएका छन्।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले अर्थमन्त्री जनार्दन शर्माले रोष्ट्रमबाट नै यस विषयमा जवाफ दिइसकेपछि पनि सांसदहरुले फेरि यही प्रश्न उठाइरहेको भन्दै जिद्दी बालको संज्ञा दिएका हुन्।
यति मात्र होइन उनले धेरै वर्ष पहिले आएको 'नाइ मलाई त्यही केटी चाहिन्छ' भन्ने गीतमा जस्तै सांसदहरुले जिद्दी गरेको पनि बताए।
'अर्थमन्त्रीले यही रोष्टमबाट जवाफ दिएपछि पनि स्वास्थ्य मन्त्रालयको छलफलमा केही माननियहरुले यही प्रश्न उठाउनु भयो। मलाई त्यही केटी चाहिन्छ भनेजस्तो। एउटै कुरा दोहोर्याछएको छ, दोहोर्यायएको छ। जिद्दी बालकको ताल जस्तो स्थिती पनि मैले देखेँ। जिद्दी मानिसको स्वभाव हो। नेपाली शब्दकोषमा जिद्दी शब्द पनि छ। कुरा बुझेपछि पनि उठाइरहने उठाइरहने' संसदमा मन्त्री खतिवडाले भने।
आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले स्वास्थ्य बीमालाई निजी कम्पनीमार्फत सञ्चालन गरिने जानकारी दिएका थिए। स्वास्थ्य ऐन विपरित बजेटमा आएको उक्त विषयको सर्वत्र विरोध हुनुका साथै संसदमा समेत सांसदहरुले उक्त कुरा उठाएका थिए। विशेषगरी उक्त विषय पूर्व स्वास्थ्यमन्त्रीहरु गगन थापा, खगराज अधिकारी र गिरिराजमणि पोखरेलले जोडदारसँग उठाएका थिए। अन्य सांसदहरुले पनि उक्त विषयको विरोध गरेका थिए।
स्वास्थ्यखबरले बजेट भाषणकै दिन उक्त विषय स्वास्थ्य बीमा ऐनको मर्म विपरित रहेको सामग्री प्रकाशित गरेको थियो। सञ्चारमाध्यमदेखि विज्ञहरुले समेत विरोध गर्नुका साथै संसदमा पनि उक्त विषयको विरोध भएपछि अर्थमन्त्री शर्माले संसदमा स्वास्थ्य बीमालाई निजी कम्पनीमा दिने नियत नभएको बताएका थिए।
तर उक्त विषय बजेट किताबमा संशोधन नभएपछि सांसदहरुले त्यसपछि पनि संसदमा बीमा कार्यक्रमलाई निजी कम्पनीमा लैजान नहुने धारणा राख्दै आएका थिए।
सोही कुरालाई लक्षित गर्दै स्वास्थ्मन्त्री खतिवडाले जिद्दी बालकको जस्तै जिद्दी भएको भनेका हुन्।
उनले स्वास्थ्य बीमाका विषयमा स्वास्थ्य मन्त्रालय स्पष्ट रहेको र बीमा ऐन विपरित काम नहुने पनि बताए।
उनले स्वास्थ्य बीमा नाफा प्रयोजन र व्यापिरक प्रयोजनका लागि नभएको विषय पनि संसदमा बताएका छन्।
'स्वास्थ्य बीमा ऐनको विपरित जानेगरी म त्यो काम गर्दिन र यो स्वास्थ्य बीमा नितान्त व्यापारिक प्रयोजनाका लागि नाफा प्रयोजनाका लागि नभएको हुनाले स्वास्थ्य मन्त्रालय त्यसमा जाँदैन,' उनले संसदमा भने।