काठमाडौं- नेपाल चिकित्सक संघले स्थापना गर्न लागेको 'एनएमए मेडिकल म्युजियम' बनाउन बागमती प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ। प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले चिकित्सा संग्रहालय (मेडिकल म्युजियम) बनाउन ५० लाख विनियोजन गरेका हुन्।
चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले म्युजियम स्थापनाका लागि बजेट छुट्याउन प्रस्ताव गरेका थिए। डा कार्कीको प्रस्तावपछि प्रदेश पर्यटनमन्त्री श्रेष्ठले ५० लाख छुट्याएका हुन्।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेटमा स्वास्थ्य पर्यटन पूर्वाधार निर्माण (चिकित्सा संग्रहालय)का लागि ५० लाख विनियोजन गरेको हो।
संघको केन्द्रीय कार्यालय प्रर्दशनीमार्गमा 'एनएमए-मेडिकल म्युजियम' स्थापना गर्ने तयारी अगाडि बढेको छ। उक्त विषयको जानकारी दिँदै संघका अध्यक्ष डा कार्कीले मन्त्री श्रेष्ठसमक्ष बजेट प्रस्ताव गरेका थिए।
संघले संघ, संस्था, अस्पताल वा व्यक्तिगत तवरबाट प्राप्त ऐतिहासिक मेडिकल उपकरण तथा चिकित्सा सेवामा प्रयोग भईसकेका सामग्रीहरुको जानकारी संघलाई दिन पनि आग्रह गरेको छ।
अस्पताल, संघ संस्था, व्यक्तिगत घरमा उपलब्ध भएका ऐतिहासिक सामग्रीहरु, प्रमाण पत्र, पुस्तक र मेडिकलसँग सम्बन्धित उपकरणहरु लगायतका अन्य सामग्रीहरु उपलब्ध गराउन पनि संघले अनुरोध गरेको छ।