काठमाडौं- नेपाल चिकित्सक संघको पहलमा नेपालका १५ सय चिकित्सकले भारतमा तालिम लिन पाउने भएका छन्। पहिलो चरणमा ४६ जना चिकित्सक तालिमका लागि भारतको चण्डीगढ जाँदै छन्।
चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीको नेतृत्वमा आइतबार ४६ जना चिकित्सक एक हप्ते तालिमका लागि भारत जान लागेका हुन्। उनीहरुलाई तालिमसँगै भारतमा जाने र नेपाल फर्कने, खाने बस्ने लगायतका सबै सुविधा भारत सरकारले नै गर्ने छ।
संघका अध्यक्ष डा कार्कीका अनुसार भारतीय दुतावास मार्फत दुतावासको आइटीइसी भन्ने प्रोगाम अन्तर्गत चण्डीगढमा विभिन्न विषय र क्षेत्रमा तालिमका लागि सम्झौता भएको छ। यस अन्तर्गत नेपालका चिकित्सकले विभिन्न विषयमा एक हप्ते, दुई हप्ते, तीन हप्ते तथा एक महिनाको तालिम लिन सक्छन्। जसअन्तर्गत १५ सय डाक्टरलाई तालिम प्रदान गरिने छ।
'पहिलो चरणमा ४६ जना चिकित्सकलाई लिएर लिडरसिप ट्रेनिङ लिनका लागि भारत जाँदै छौं,' उनले भने, 'पाठ्यपुस्तकमा समेत पढ्न नपाउने कुराहरु अन्तराष्ट्रिय एक्सपोजर मार्फत ज्ञान र सीप लिन लागिएको हो।' चण्डीगढको पोस्टग्राजुयट इन्स्टिच्यूट अफ मेडिकल एजुकेसन एन्ड रिसर्चको डिपार्टमेन्ट अफ कम्युनिटी मेडिसिन एन्ड स्कुल अफ पब्लिक हेल्थले इन्टरनेसनल पब्लिक हेल्थ म्यानेजमेन्ट डिभलप्मेन्टको तालिम दिन लागेको उनले जानकारी दिए।
उनका अनुसार यस्ता तालिममा २५ देखि ४५ वर्षसम्मका चिकित्सकले सहभागिता जनाउन सक्ने छन्। 'विशेषगरी योङ्ग डाक्टरहरुलाई प्रमोट गर्ने गरेका छौं। २५ देखि ४५ वर्षका लाई टार्गेट गरेर', उनले भने, 'किनभने ४५ वर्षको उमेरपछि डाक्टरहरु अस्पताल निर्देशक, उपकुलपति लगायतका नेतृत्वदायी भूमिकामा पुग्छन्। उनीहरुको लिडरसिप क्षमता बढाउन यस्तो तालिम दिनका लागि टार्गेट गरेका हौं।'
पहिलो चरणमा गएको चिकित्सकको टोली फर्केपछि क्रमश विभिन्न समयमा अरु समूह पनि तालिमका लागि भारतमा जानेछन्। संघले तालिम लिन जाने चिकित्सकको छनोटका लागि पारदर्शी छनोट समिति बनाएको छ। उक्त समितिले शुरुमा आवेदन माग गरेको थियो। पहिलो चरणका लागि दुई सय जनाले आवेदन दिएका थिए। सो क्रममा ४६ जनालाई पहिलो चरणमा छनोट गरिए पनि बाँकी रहेकाहरु क्रमश अन्य चरणमा पर्नेछन्।
तालिममा छनोट हुनका लागि उमेर, पाँच वर्षको अनुभव, आवेदन दिएकामध्ये पनि तत्कालै आवश्यक पर्ने समूहमा पुगेकाहरु लगायतका विभिन्न आधारहरु तय गरिएको छ।