काठमाडौं- काठमाडौं महानगरपालिकाले वरिष्ठ चिकित्सक भगवान कोइरालाले स्थापना गर्न लागेको नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेशनल चाइल्ड हेल्थ केयर अस्पताल भवन निर्माणको लागि ४ करोड आर्थिक सहयोग उपलब्ध गराउने बताएका हुन्।
अस्पताललाई सहयोग उपलब्ध गराउने विषयमा यसअघिमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरीप्रभा खड्का लगायतसँग सम्झौता भएको थियो। सोही सम्झौता अनुसार मेयर बालेन्द्रले नीति तथा कार्यक्रममा नै बजेट उल्लेख गरेर सहयोग उपलब्ध गराउने जानकारी दिएका हुन्।
त्यस्तै क्षेत्रपाटी निःशुल्क चिकित्सालय भवन निर्माणको लागि ५ करोड आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको मेयर साहले बताए।
यस्तै बीपी कोइराला मेमोरियल ट्रष्टको अनुसन्धान केन्द्र भवन निर्माणको लागि रु ३ करोड र मदन भण्डारी मेमोरियल कलेजको भवन निर्माणको लागि रु ५ करोड उपलब्ध गराउने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ।