काठमाण्डौ– काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो।
यसअघि काठमाण्डौ बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाण्डौको बागबजार क्षेत्रको नमूना संकलन गरिरहेको छ। बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमूना संकलन भइरहेको हो। टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले काठमाण्डौमा हैजा फैलन सक्ने जोखिम बढेको बताए।
छिटो फैलिने भएकाले एक जनामा हैजा देखिए पनि यसलाई ठूलो जोखिम मानिन्छ। भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ। संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ। तारन्तार चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांशपेशी बाउँडिने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन्। यस्ता लक्षण देखिना साथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जानु पर्ने डाक्टर बताउँछन्।
समयमै उपचार नपाएमा शरीरमा पानीको मात्रा कमी भई प्रेसर कम हुने, मिर्गौला फेल हुने, मुटुमा असर गर्ने, ग्लुकोज कम हुने तथा कुनैमा छारेरोग जस्तो शरीर काम्ने पनि हुन्छ। समयमा उपचार हुन नपाएमा केही घण्टामै मृत्यु समेत हुन सक्छ।
झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा १ पुरिया जीवनजल प्रयोग गरी राम्ररी घोल्ने र पटकपटक गरी खुवाउने ,प्रशस्तै मात्रामा झोलिलो पदार्थ खाने, स्वास्थ्यकर्मीले दिएको सल्लाह बमोजिम आवश्यकता अनुसार एन्टिबायोटिक तथा जिन्कको प्रयोग गर्ने गर्नुपर्दछ।