काठमाडौं- सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ। स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ।
निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले भने-‘पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको छ। प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि आरआरटी (रिभ्यु रेस्क्यू टिम) पठाइसकिएको छ।'
बर्डफ्लु देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक वैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ।
उक्त फर्ममा साना ठूला गरी एक हजार ५ सय टर्की छन्। फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मारेर सुरक्षित रुपमा तिनको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए।