काठमाडौं- नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले पदबाट राजीनामा दिन थालेका छन्। पर्यटनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका छन् भने सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने तयारी गरेकी छिन्।
नेकपा एसले आफ्ना तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरु पठाउने निर्णय यसअघि नै गरिसकेको छ। पार्टीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ।
पार्टीको निर्णय अनुसार नै मन्त्रीहरुले आफ्नो पदबाट राजीनामा दिएको र दिने तयारी गरेको बताएका छन्।
तर, स्वास्थ्य तथा जनसंख्यामन्त्रीले भने अहिलेसम्म राजीनामा दिएको वा यस विषयमा उनको औपचारिक धारणा आएको छैन।
स्वास्थ्यखबरले मन्त्री खतिवडासँग राजीनामाका विषयमा जिज्ञासा राखेको छ। स्वास्थ्यखबरको जिज्ञासामा मन्त्री खतिवडाले पार्टीले आफूहरुलाई फिर्ता बोलाएर मन्त्रीमा अन्यको नाम सिफारिस गरिसकेका कारण आफूले राजीनामा दिइरहन नपर्ने बताए।
‘राजिनामा दिनै पर्दैन भन्या, पार्टीले निर्णय गरेर पठाएको छ। प्रधानमन्त्रीले हेरफेर गर्ने हो। अहिलेसम्म चलन नै त्यही हो,’ मन्त्री खतिवडाले स्वास्थ्यखबरसँग भने, ‘मन्त्रीबाट कस्तो हट्ने बस्ने भनेको? पार्टीले आफ्नो मन्त्री पठाएको थियो। अहिले मन्त्री फिर्ता लिन नाम पठाएको छ। अब प्रधानमन्त्रीले पुनर्गठन गर्नुहुन्छ सकियो।’
आगामी आर्थिक वर्षको बजेटका विषयमा राष्ट्रिय सभामा छलफल चलिरहेको छ। स्वास्थ्यमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिन बाँकी नै छ। स्वास्थ्यमन्त्रीले सोमबार जवाफ दिने कार्यसूची रहेको छ।
राष्ट्रिय सभामा सोमबार हुने छलफलमा सहभागीता हुने वा नहुने विषयमा मन्त्री खतिवडा भन्छन्, ‘भोलि राष्ट्रिय सभामा जाने विषयमा म मन्त्री रहिरहेँ भने जाने हो मन्त्री नै रहिन भने नजाने हो।’
नेकपा एसले खतिवडालाई फिर्ता बोलाउँदै स्वास्थ्यमन्त्रीमा हालका राज्यमन्त्री भवानीप्रसाद खापुङलाई पठाउने निर्णय गरेको छ।