काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२औं तह)मा रहेको रिक्त पदमा बढुवाका लागि भएको प्रक्रियामा विवाद आएको छ। मन्त्रालयले हाल रिक्त रहेको एक जना पदका लागि बढुवाको प्रक्रिया अगाडि बढाएको थियो।
बढुवाका लागि प्रारम्भिक छनोटमा परेका तीन जनामध्ये दुई जनाको कार्यसम्पादन मूल्यांकनका विषयमा विवाद देखिएको छ। आइतबार बसेको बढुवा समितिको छलफलमा कार्यसम्पादनको विवादका विषयमा कानुन मन्त्रालयसँग छलफल गर्ने निर्णय भएको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार बढुवा समितिले १२औं तहको रिक्त पदमा एक नम्बरमा मेची अस्पतालमा कार्यरत डा टंक बाराकोटी, दोस्रोमा स्वास्थ्य स्थान जनसंख्या मन्त्रालयमा कार्यरत डा संगीता मिश्रा र तेस्रो नम्बरमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटालाई सिफारिस गर्ने तयारी गरेको छ।
तर एक र दुई नम्बरमा सिफारिस गर्न लागिएका डा बाराकोटी र डा मिश्राको कार्यसम्पादन लगायतका विषयमा विवाद आएको छ। डा बाराकोटीले आर्थिक वर्ष २०७५/७६ देखि यताको एकै पटक मूल्यांकन पेश गरेको र त्यसमा केही त्रुटि देखिएको भन्दै विवाद आएको छ। यस्तै डा मिश्राको हकमा पनि कागजपत्र नै किर्ते पेश गरेको भन्ने विषयमा समितिमा जानकारी पुगेपछि टुंगोमा नपुगेको हो।
स्रोतका अनुसार तीन जनामा थोरै नम्बरको मात्र अन्तर छ। 'उनीहरुको प्रतिस्पर्धा तीब्र देखिएको छ,' स्रोतले भन्यो, 'विवादको विषय टुंगो लगाएर कानुनको समेत राय लिएर अगाडि बढ्ने कुरा भएको छ।'
स्वास्थ्यमा १२औं तहको चारवटा पद रहेको छ। जसमा हाल एउटा पद मात्र रिक्त रहेको छ।