काठमाडौं- अग्रिम रुपमा सरकारी अस्पतालमा हाजिर गर्दै निजीमा गएर काम गर्ने भेरी अस्पतालका डाक्टरमाथि कारबाही अगाडि बढेको छ। भेरी अस्पताल नेपालगन्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा सुरेशकुमार नागले अग्रिम हाजिर गर्दै निजीमा काम गरेको फेला परेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा नागलाई ४८ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन आदेशसहितको पत्र पठाएको छ। मन्त्रालयले बुधबार डा नागलाई मन्त्रालयमा उपस्थित हुन पत्र काटेको हो।
मन्त्रालयमा आएपछि उनीमाथि स्पष्टीकरणसहित अन्य कारबाही प्रक्रिया अगाडि बढाउने तयारी मन्त्रालयले गरेको छ।
डा नाग असार २० गते अस्पतालमा पुगेर असार २९ गतेसम्मको हाजिरी गरेर गएको प्रमाणसहित जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कारबाहीका लागि माग गर्दै पत्र पठाइएको थियो। सोमबार (असार २० गते) अस्पताल पुगेर २९ गतेसम्मको अग्रिम हाजिरी गरेको पाइएपछि अस्पताल विकास समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका लागि लेखि पठाएको थियो। त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको थियो।
डा नागले अस्पतालमा आफ्नो ड्युटी पूरा नगरेको भन्दै यसअघि पनि अस्पताल विकास समितिले २०७८ साल साउन २२ गते कारबाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो। त्यसको सुनुवाइ भएको छैन।
डा नागलाई अहिलेसम्म पनि कारबाहीको प्रक्रिया अघि बढ्न नसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद कुमार धितालले जानकारी दिए।
नेपालगन्जको पासाङल्हामु मार्गमा डा नागको आफ्नै वैष्णवी अस्पताल सञ्चालनमा रहेको छ। भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको छ।
उनलाई कारबाही गर्न समितिले २०७८ साउन २२ मा स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको थियो। तर, स्वास्थ्य मन्त्रालयले अहिलेसम्म सचेतसम्म पनि चासो नदिएपछि नागको मनोमानी बढेको अस्पताल स्रोत बताउँछ।
हेर्नुहोस असार २० गते अस्पतालमा पुगेरर असार २९ गतेसम्मको नागले गरेको हाजिरी: