काठमाडौं– बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले नेपाल चिकित्सक संघले स्थापना गर्न लागेको 'एनएमए मेडिकल म्युजियम'का लागि ५० लाख बजेट विनियोजन भइसकेको र आवश्यक परे थप रकमको व्यवस्था समेत गर्ने बताएका छन्।
संघको कार्यालयमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा मेडिकल म्युजियमका लागि ५० लाख रुपैयाँ विनियोजन भइसकेको जानकारी दिँदै म्युजियम बनाउने क्रममा रकम अभाव भएमा रकमान्तर गरेर थप रकम समेत उपलब्ध गराउने जानकारी दिए।
'पर्यटनको क्षेत्रमा केही नयाँ गर्ने सोचमा नै थिएँ। चिकित्सक संघबाट मेडिकल म्युजियम बनाउने प्रस्ताव आयो। स्वास्थ्य पर्यटनका लागि यो नयाँ आइडिय मलाई निकै मन पर्यो,' उनले भने, 'मेडिकल टुरिजमलाई अगाडि बढाउने यस्तो काममा सहयोग गर्न पाउँदा निकै खुशी लागेको छ। अहिले ५० लाख रुपैयाँ विनियोजन भएको छ। आवश्यक परेमा थप रकम अन्यत्रबाट रकमान्तर गरेर पनि दिन सकिन्छ।'
उनले मेडिकल टुरिजमका लागि पनि मन्त्रालयले बजेट छुट्याएको जानकारी दिए।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले नेपालमा चिकित्सा अभ्यास सुरु भयताका इतिहासलाई सुरक्षित राख्दै नयाँ पुस्तालाई इतिहासका विषयमा जानकारी दिन म्युजियम स्थापना गर्न लागिएको बताए। उनले नेपालमा पहिलो पटक प्रयोगमा आएका मेडिकल उपकरण, कागजपत्र, प्रविधि लगायतका कुराहरु म्युजियममा सुरक्षित राखिने जानकारी दिए।
'नेपालमा चिकित्सा अभ्यासका क्रममा सुरुमा के कस्ता सामग्री तथा उपकरणहरु प्रयोग भएका थिए। तिनीहरु कस्ता थिए। पहिलो पटक प्रयोगमा आएका उपकरण तथा सामग्री र कागजपत्र के कस्ता थिए भन्ने कुराहरु म्युजियममा राख्नेछौं,' उनले भने, 'यसका लागि संघले सार्वजनिक रुपमा म्युजियममा राख्न मिल्ने सामग्री उपलब्ध गराउन आह्वान गरिसकेको छ।'
संघका उपाध्यक्ष डा अनिलविक्रम कार्कीले मेडिकल टुरिजमबाट नेपालको अर्थतन्त्रमा समेत सुधार हुने जानकारी दिए। उनले म्युजियम सहित मेडिकल टुरिजमका क्षेत्रमा काम अगाडि बढाएकोमा मन्त्री श्रेष्ठलाई धन्यवाद दिँदै संघले उक्त कार्यमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठलाई म्युजिमय बनाउन सहयोग गरेको भन्दै संघले सम्मान समेत गरिएको छ।
यस्तै, संघका अध्यक्ष डा कार्कीले मेडिकल टुरिजमबारे तयार पारेको अनुसन्धान प्रतिवेदन मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।