काठमाडौं– अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित एक अस्पतालमा १८० जना हैजाका संक्रमित भर्ना भएका छन्। अस्पतालका चिकित्सकका अनुसार बिहीबार १८० जना हैजाका संक्रमित भर्ना भएका हुन्।
चिकित्सक सोर्गुल नौजदीले भने, ‘यो रोगबाट प्रभावित ७४ जना बिरामी शाह वालिकोट जिल्लाका रहेका छन् भने अन्य वरपरका क्षेत्रबाट आएका बिरामी रहेका छन्।’
यस रोगले पहिले छिमेकी हेलमन्ड प्रान्तमा २० जना बालबालिकाको मृत्यु भइसकेको नवजादीले बताए। हेलमण्ड प्रान्तको बाघरान जिल्लाको गाउँपालिकामा करिब १५० जनामा यो रोग लागेको स्थानीयले बताएका छन्।
‘मौसम धेरै गर्मी छ। हामीसँग स्वच्छ खानेपानी छैन र मलाई लाग्छ स्वच्छ पानीको अभाव हाम्रो क्षेत्रमा रोगको प्रकोपको कारण हुनसक्छ,’ शाह वलिकोट जिल्लाका दोस्त मोहम्मदले भने।
शाह वलिकोट निवासी सामाजिक अगुवा करी अब्दुल्लाहले स्थानीय प्रशासन र मानवीय सहयोगका लागि काम गर्दै आएका संघसंस्थाहरूलाई त्यस क्षेत्रका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन सहयोग गर्न आह्वान गरेका छन्।
स्वास्थ्य आधारभूत संरचनाको अभाव, स्वास्थ्य केन्द्रहरूको अभाव तथा गुणस्तरहीन स्वास्थ्य सेवाका साथै अफगानिस्तानका दुर्गम क्षेत्रहरूमा खाने पानीको अभावले गाउँलेहरू हैजाबाट प्रभावित भएको बताइएको छ।