काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले किर्तीपुरस्थित आर्युवेद अनुसन्धान केन्द्र र महाराजगञ्जस्थित नेसनल प्याथ ल्याबको निरीक्षण गरेका छन्। शुक्रवार स्वास्थ्य राज्यमन्त्री केसीले दुवैको ल्याब अनुगमन गरेका हुन्। आर्युवेद अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले अनुसन्धान केन्द्रको वृह्त विकासका लागि आफू संवेदनशिल भएको बताए।
उनले नेपालमा पाइने जडीवुटीबारे अध्ययन, त्यसको प्रशोधन र अनुसन्धानबारे केन्द्रले काम गर्दै आएको भन्दै प्रशंसा गरे।
मन्त्री केसीले भने, अनुसन्धानका लागि पर्याप्त बजेट नछुट्याएको विषय प्रति सजग छौं। धेरै जसो कर्मचारीहरु करारमा हुनुहुँदो रहेछ। यस विषयलाई मैले गम्भिर रुपमा लिएको छु।’ उनले नेपालमा उत्पादन भएका करोडौं रुपैयाँका जडीबुटी विदेश निर्यात भइरहेको भन्दै उत्पादन भएका जडीबुटीको अध्ययन अनुसन्धान हुन जरुरी रहेको बताए। हाल केन्द्रमा एक जना ११ औं तहका कर्मचारी मात्रै स्थायी दरबन्दीमा कार्यरत छन्। अन्य सबै कर्मचारीहरु करारमा काम गर्दै आएका छन्।
यस्तै, नेसनल प्याथ ल्यावको अनुगमनका क्रममा स्वास्थ्य राज्य मन्त्री केसीले मापदण्ड नपुगेको ल्यावले सेवा दिँदा गुणस्तरीयता र स्वास्थ्य संवेदनशिलतामा प्रश्न उठ्ने बताए। उनले भने, ‘अहिलेपनि केहि प्रयोगशालाहरु मापदण्डभित्र नरहेको पाइएको छ। मापदण्डमा रहि प्रकृयाभित्र रहेर सञ्चालनमा ल्याउन आग्रह गर्छो। नत्र भने कारबाहि गर्नुको विकल्प छैन।’
सरकारी अस्पतालहरुले परीक्षणका नाममा निजी प्रयोगशालामा पठाउने जनगुनासो आएको भन्दै यसको नियमन आवश्यक रहेको बताए। स्वास्थ्य प्रयोगशाला स्थापना सञ्चालन मापदण्ड सम्बन्धी निर्देशीका २०७३ जारी भएको छ। अनुगमनमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुणा झाको पनि उपस्थित रहेको थियो।