काठमाडौं - त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानले उपचार सेवा नै स्थगित गरेर राष्ट्रपति सहभागी हुने एउटा कार्यक्रममा उपस्थित हुन मातहतका अस्पताललाई उर्दी जारी गरेको छ।
चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन दिव्या सिंह शाहले त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशकलाई पत्र नै लेखेर आइतबार (साउन १ गते)को कार्यक्रममा उपस्थित हुन भनेकी हुन्।
पत्रमा आकस्मिक बाहेकको अन्य सबै उपचार सेवा स्थगित गरेर कार्यक्रममा सहभागी हुन भनिएको छ। संस्थानको ५०औं वार्षिकोत्सवको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम सञ्चाल गरिएकोमा साउन १ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिने व्यहोरा पत्रमा उल्लेख छ।
'यस चिकित्सा शास्त्र अध्ययन संस्थानको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्दै आइरहेको व्यहोरा अवगतै होला। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मिति २०७९/०४/०१ गते सम्माननीय राष्ट्रपतिज्यूको समउपस्थितिमा उक्त दिन त्यस अस्पतालको आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरी विभागीय प्रमुख लगायत सम्पूर्ण फ्याकल्टीहरुलाई उपस्थित गराइ दिनुहुन अनुरोध गर्दछु,' डिन सिंहले शिक्षण अस्पताल मनमोहन अस्पतालका कार्यकारी निर्देशकलाई लेखेको पत्रमा भनिएको छ।