काठमाडौं - त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) ले त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रलाई साउन १ गते बिहानी सेवा सञ्चालन गर्न भनेको छ।
यसअघि आइओएमकी डिन दिव्या सिंह शाहले यी अस्पताल र केन्द्रका कार्यकारी निर्देशकलाई पत्र नै लेखेर आइतबार राष्ट्रपति सहभागी हुने कार्यक्रममा उपस्थित हुन उर्दी नै जारी गरेकी थिइन्। पत्रमा आकस्मिक बाहेकको अन्य सबै उपचार सेवा स्थगित गरेर कार्यक्रममा सहभागी हुन भनिएको थियो। हाल आइओएमले उक्त पत्र सच्याउँदै आइतबार बिहानी सेवा सञ्चालन गर्न मातहतका अस्पताललाई भनेको छ।
यसअघि पठाएको पत्रमा डिन शाह आफैँले हस्ताक्षर गरेकी थिइन् भने सच्याइएको पत्रमा प्रशासन प्रमुख बिर्ख बहादुर तामाङको हस्ताक्षर छ। संस्थानको ५० औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएकोमा साउन १ गते राष्ट्रिपति विद्यादेवी भण्डारीको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिने व्यहोरा पत्रमा उल्लेख छ।
‘सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मिति २०७९/०४/०१ गते सम्माननीय राष्ट्रपतिज्यूको समउपस्थितिमा उक्त दिन त्यस अस्पतालको आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरी विभागीय प्रमुख लगायत सम्पूर्ण फ्याकल्टीहरुलाई उपस्थित गराई दिन अनुरोध गरिएकोमा त्यस दिन बिरामीहरुको सेवालाई मध्यनजर गरी बिहानीको सत्रमा सम्पूर्ण सेवाहरु यथावत सञ्चालन गर्नुहुन निर्देशानुसार अनुरोध गर्दछु।’ पत्रमा भनिएको छ।