काठमाडौं– लोकसेवा आयोगले नवौं तह कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदका लागि गत जेठ १२ गते गरेको सिफारिस रद्द गरेको छ। आयोगले नियोनेटोलोजी उपसमूहका लागि तोकिएको शैक्षिक योग्यताको आवश्यकतालई पूरा गरेको नदेखिएको भन्दै डा प्रकाश थापाको सिफारिस रद्द गरेको हो।
नवौं तह कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदमा डा थापालाई आयोगले गत जेठ १२ गते सिफारिस गरेपछि योग्यता नपुगेका व्यक्तिलाई सिफारिस गरेको भन्दै आयोगमा निवेदन परेको थियो। उक्त निवेदनपछि आयोगले गरेको छानबिन र अध्ययनका क्रममा डा थापाको उक्त पदका लागि तोकिएको योग्यता नपुगेको भेटिएको हो। त्यसपछि आयोगको असार १५ को निर्णय अनुसार डा थापाको सिफारिस रद्द भएको हो।
‘नेपाल स्वास्थ्य सेवा पेडियाट्रिक समूह, नियोनेटोलोजी उपसमूह, नवौं तहको कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदमा सिफारिस भएका उम्मेदवारले पेश गरेको एमडी पेडियाट्रिक्स योग्यतालाई तोकिएको न्युनतम योग्यताको रुपमा मान्न सकिने नसकिने सम्बन्धमा छलफल हुँदा पेडियाट्रिक्स मेडिसिन र नियोनेटोलोजी फरक उपसमूहमा कायम रहेको र नियोनेटोलोजी उपसमूहका लागि नियोनेटोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त भन्ने शैक्षिक योग्यता तोकिएको देखिएकोमा सिफारिस भएका उम्मेदवारले पेश गरेको पेडियाट्रिक्समा स्नातकोत्तर उपाधिको योग्यताले उल्लेखित नियोनेटोलोजी उपसमूहका लागि तोकिएको शैक्षिक योग्यताको आवश्यकतालई पूरा गरेको नदेखिएको भन्ने शैक्षिक योग्यता सुझाव समितिको मिति असार १५ को निर्णयका आधारमा लोकसेवा आयोग ऐन, २०६६ को दफा १४ को उपदफा ३ बमोजिम निजको दरखास्त फाराम, लिखित परीक्षा तथा अन्तर्वार्ता र मिति जेठ १८ मा गरेको सिफारिससमेत रद्द गरी सोको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने,' आयोगको निर्णयमा भनिएको छ।
आयोगको विज्ञापन नम्बर १७२४८/०७८–७९ नेपाल स्वास्थ्य सेवा, पेडियाट्रिक समूह, नियोनेटोलोजी उपसमूह नवौं तहका लागि कन्सल्टेन्ट नियोनेटोलोजिस्ट पदका लागि आवेदन माग गरेको थियो। उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नियोनेटोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने आयोगले उल्लेख गरेको थियो।
नियोनेटोलोजीमा डीएम गर्दै गरेका विद्यार्थीहरुको समूहले डा थापाको पेडियाट्रिक्स विषयमा एमडी डिग्री भए पनि तोकिएअनुसार नियोनेटोलोजीमा फेलोसिप वा डीएम नियोनेटोलोजी डिग्री नभएको र नियोनेटोलोजीमा मेडिकल काउन्सिलमा दर्ता नभएको भन्दै आयोगमा निवेदन दिएका थिए।