इस्लामावाद- पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ। पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय५२ जनाको मृत्यु भएको छ। तीमध्ये मङ्गलबार थप सात जनाको मृत्यु भएको हो।
हाल पाकिस्तानमा एकसय ७४ जना कोरोनाका सक्रिय बिरामी रहेका र उनीहरूको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
यसैबीच, भारतमा बुधबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ। सङ्घीय स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा देशमा २० हजार पाँचसय ५७ नयाँ बिरामी थपिएका छन्।
हालसम्म भारतमा चार करोड ३८ लाख तीन हजार छसय १९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ४५ हजार छ सय ५४ पुगेको छ। बितेका २४ घण्टामा ४० जनाको मृत्यु भएको छ। महामारी शुरू भएयता भारतमा पाँच लाख २५ हजार आठसय २५ जनाको ज्यान गइसकेको छ। रासस