उहिले हाम्रा पुर्खा तीन छाक भात खाने गर्थे। मासु, चिल्लोचाप्लो अनि घिउ नै पिएर पनि लामो आयु बाँचेको देख्ने–सुन्ने धेरै जना छौं।
त्यो परम्पराबाट प्रेरित हाम्रासंस्कृति र पर्वहरूमा त्यस्तै प्रकारका खानेकुरा र खानपान शैली छ। तर, दिनरात खेतीमा काम गर्ने हाम्रा पुर्खाको दाँजोमा हामी शक्ति खर्च हुने शारीरिक क्रियाकलाप भने धरै कम गर्छौं। प्रविधिले हाम्रो जीवन यति सहज बनाइदियोकि, हामीलाई खाएको भात पचाउन पनि संघर्ष गर्नुपर्ने भएकोछ। अब हाम्रा पुर्खाले झैँ २–३ छाक भात खान थाले मधुमेह, मोटोपनलगायातका शारीरिक समस्या आउने भएको छ।
प्रख्यात भारतीय गुरु सदगुरुले भनेका छन्, ‘कुनै समय थियो, मानिस खान नपाएर मर्ने गर्थे। अहिले मान्छे बढी खाएर या खान नजानेर अकाल मर्न थालेका छन्।’ हाम्रो जीवन शैली उनले भनेजस्तै हुँदैछ। आर्थिक संकटमा रहेको एउटा तप्काबाहेक अधिकांश मानिस गोजीमा पैसा बोकेर सहज यातायातका साधनमार्फत मिठो खानेकुरा खोज्न निस्कन्छन्। मिठो खानु सोख नै भएको छ।
तर, शारीरिक अभ्यास र शारीरिकशक्ति लाग्ने काम नगरेपछि ती खानेकुराका कारणअनावश्यक मोटोपन हुन्छ। पेट दमाहाजस्तो र गर्धन हात्तिको जस्तो हुन्छ। देख्नमा खाइलाग्दा हुन्छौँ। शरीर रोगको भण्डार भइसकेको हुन्छ। ५० वर्ष उमेर नकाटी रक्तचाप, मधुमेह, युरिक एसिडजस्ता समस्या देखापर्छन्। यसर्थ, आधुनिक जीवन शैली पछ्याइरहेका सबैलाई नियमित कामबाहेक अतिरिक्त क्रियाकलापमा अनिवार्य लाग्नु आवश्यक छ। यस्ता क्रियाकलापमध्ये सबैभन्दा सहज र उत्तम भनेको दौडनु नै हो। खुट्टाको समस्या हुनेले भने हिँड्दा या योग गर्दा उत्तम हुन्छ।
लामो समयदेखि दौडमार्फत प्रत्यक्ष रुपमा लाभ लिएको अनुभवलाई बाँड्ने यो पंक्तिकारको उद्देश्य हो। यहाँ उल्लेख गरिएका विषय मेरो विशेषज्ञताभन्दा पनि अनुभवका आधारमा प्रस्तुत गरेको छु।
सन् २०१७ देखि साप्ताहिक रुपमा नियमित दौडमा लागेको छु। यसअघि रामदेवबाट प्रभावित भएर म नियमित योग गर्दथो। तर, कार्य व्यस्तता र थकानले गर्दा भ्याउन छोडियो।मोटोपन घटाउन शरीरको बोसो पगाल्नै पर्ने, थोरै कष्ट उठाउनै पर्ने भए पनि दौडलाई नियमित संस्कार बनाउन सजिलो छैन। तर, असम्भव पनि छैन।
नियमित दौडका लागि पहिलो आवश्यक सर्त अठोट नै हो। अठोटले आदत बन्छ।स्वास्थ्यलाई दीर्घकालीन फाइदा हुने आदत पनि बसाउँ न त भन्ने भित्री अठोटले नै मेरो दौड–यात्रासुरु भएको हो। तर, सुरुवाती दिनहरू पक्कै सहज थिएनन्।
एक किलोमिटर दौडिँदा छाती फुट्लाजस्तो हुन्थ्यो। खुट्टामा फोका उठेका थिए। खुट्टा–शरीर दुखेर उठ्न नसक्ने भएको थियो। यस्तो कस्ट जोकोहीले पार गर्नुपर्ने हुन्छ। यो कस्ट पार गरेर मैले दुई पटक लन्डन म्याराथन (४२. १९५ किमि) दौड, ६ ओटा अर्धम्याराथन (२१ किमि) र १० भन्दा बढी १०–१५ किमिका दौडहरू गरेको छु।
स्वास्थ्य लाभको ‘स्वर्णपदक’
सामान्यतः नेपाली समाजमा दौडलाई प्रतिस्पर्धा र तक्मा जित्नलाई खेलिने खेल भनेर बुझ्ने चलन छ। पैसा, पदवी या शक्तिका लागि गरिने दौडलाई मात्र दौड मान्ने गरिन्छ। पछिल्लो समय भने दौडनुलाई शारीरिक तन्दुरुस्ती र स्वाथ्य लाभको दृष्टिबाट पनि हेरिन थालिएको छ।
अहिलेको व्यापारिक युगमा मानिस हरेक मिनेट र सेकेन्ड पैसाको पछाडि दौडने गर्छ। उसँग व्यक्तिगत जीवन र आफ्नो स्वास्थ्यको लागि दिने समय साह्रै कम हुन्छ।जब स्वास्थ्य सम्बन्धी दीर्घकालीन समस्या देखापर्छ, अनि पश्चातापबाहेक गर्नसक्ने काम ज्यादै कम हुन्छ। यसर्थ,स्वस्थ जीवनका लागि हरेक दिन केही समय छुट्याउनै पर्छ। केही समय गरिने हिँडाइले नपुग्ने हुँदा हरेक दिन भ्याएको समय दौडमा लागेर तन्दुरुस्ती कायम गर्न सकिन्छ।
खुला चौर अथवा शान्त क्षेत्रमा दौडँदा शारीरिक मात्र नभएर मानसिक आनन्द पनि हुन्छ।शरीरका बाहिरी र भित्री अंगलाई पुग्ने व्यायाम पनि दौडले प्रदान गर्ने विज्ञहरूको राय छ। चौर या खुल्ला ठाउँमा दौडन असम्भव हुनेहरूले ‘ट्रेडमिल’मा दौडने चलन बढेको छ। जिमको लागि पैसा खर्च गर्नु पर्ने, तयारी र विविध जोखिमलाई ध्यान दिनु पर्नेजस्ता झन्झट दौडनुमा छैन। दौड अब ठूला–ठूला च्यारिटीमार्फत रकम संकलन गर्ने माध्यम पनि बनेको छ।यो पंक्तिकारले पनि थुप्रै अन्तर्रास्ट्रिय संस्थाहरूको लागि दौडमार्फत च्यारिटी रकम संकलन गरेको छ।
फैलँदो ‘पार्क रन’ संस्कृति
बेलायत लगायत यूरोप र अमेरिकाकाका अधिकांश पार्कहरूमा हरेक शनिबार बिहान ९ बजे स्थानीयबासीहरूभेला भएर पाँच किलोमिटर दौडने चलनसंस्कारको रुपमा स्थापित भएको छ।‘पार्क रन’कै अर्को संस्करण ४ देखी १४ वर्षसम्मका बालिबलिकाहरूका लागि आइतबार दुई किलोमिटरको दौड पनि हो।
पार्कमा भेला भएर दौडने संस्कार अरुलाई जित्ने प्रतिस्पर्धात्मक खेल होइन। यो आफूसँगकै प्रतिश्पर्धा हो। आफ्नो पुरानो रेकर्डभन्दा राम्रो दौडिन र निरन्तर सुधार गर्न प्रयास गरिन्छ। पार्क रनलाइ व्यवस्थित गर्न यसको आफ्नै वेबसाइट जततउस्ररधधध।उबचपचगल।यचन।गप छ। यसमा सहभागी बन्न चाहनेले अनलाइन दर्ता गरेर सम्पूर्ण जानकारीसहित हरेक सहभागीलाई पृथक ‘आईडी’को एउटा बारकोड दिइन्छ। पार्क रनको मुख्यालयले आवश्यक सामग्रीहरू उपलब्ध गराउँछ भने यसमा सहभागी हुँदा कुनै पनि शुल्क तिर्नु पर्दैन।सरकार र सरोकारवाला संघसंस्थाको लगानी रहेको छ।
पार्क रनका सहभागीहरूमध्ये हरेक हप्ता पालो गर्दै स्वयंसेवी बनेर व्यवस्थापन गर्ने र पाँच किलोमिटर दूरीका हरेक गौंडामा बसेर कसैलाई सहायता आवश्यक परे सहायता गर्ने गरिन्छ। दौडिरहेकाहरूलाई प्रोत्साहन पनि गरिन्छ।दौडको अन्त्यमा सबैले आफ्नो रेकर्ड आफ्नै आईडी कार्डमा रहेको बारकोडलाई स्क्यान गरेर राख्छन्।
अन्त्यमा स्वयंसेवकहरूले कति मिनेटमा दौड सम्पन्न गरेको त्यो उमेर समूहमा दौडने र आफ्नो स्थान तथा सम्पूर्ण जानकारी पार्करनको विश्वव्यापी वेबसाइटसँगै जानकारीहरू संकलन गरेर राख्छन्। हरेक सहभागीलाई इमेलमार्फत जानकारी प्रदान गरिन्छ।यो दौड सन् २०१७ देखि सुरु गरेको पंक्तिकारले रुघा–खोकीजस्ता सामान्य समस्या झेल्नु नपरेको र शारीरिक रूपमा कुनै समस्या नभएको अनुभव छ।
आफ्नो स्वास्थ्य मात्र हैन, समुदायकै स्वास्थ्यलाई ध्यानमा राखेर हामीले लन्डनमा नियमित दौडने नेपालीहरूको एक क्लब नै दर्ता गरेका छौं।‘नेपाल रन’ नाम गरेको हाम्रो संस्थामा आबद्ध भएर पनि दौड सम्बन्धी सल्लाह र सुझाव पाउन सकिन्छ। अब त कतिपय शारीरिक समस्याबाट मुक्ति पाउन डाक्टरहरूले नै पार्क रनमा सहभागी हुन सल्लाह दिने गरेका छन्।
पार्क रन संस्कृति आजको व्यस्त दैनिकी कोठा र अफिसभित्र सीमित भएर काम गर्नुपर्ने अवस्थाका मनिसहरूलाई उपयोगी भएको छ। आफ्नो स्वास्थ्यका लागि मात्र नभइभावि सन्ततिलाई पनि सकारात्मक सन्देश दिन र सभ्यताको रूपमा हस्तान्तरण गर्न सकिने गतिलो संस्कारको रूपमा पार्क रनलाई हेर्न थलिएको छ। यस्तै गरेर तौल घटाएर आकर्षक शरीर बनाउने युवायुवातीको पनि एक गतिलो माध्यम र फेसन नै बन्ने गरेको छ पार्क रन।
यसका केही नकारात्मक विषय पनि छन्, जुन सच्याउन आवश्यक छ। दौडमा लागेर छिट्टै छोड्नेहरू समेत छन्। दौडन आउने र आफू अत्यन्त बलिस्ट भएको फुर्ति झार्न लिट्टी कसेर दौडने, खुट्टा तथा शारीरिक स्वास्थ्यमा असर परेपछिदौडनै छोड्नेहरू पनि छन्।लहैलहैमा लागेर गति बढाउने, प्रतिस्पर्धीहरू दीर्घकालीन शारीरिक समस्यामा फस्नेहरू समेत छन्। कोही त दौडने सुरमा काम, दाम नै छोडेर रमाउने पनिहुन्छन्। तर, नितान्त स्वास्थ्यको लागि दौडने र लामो समय टिक्ने भनेको आफ्नै गतिमा जानु नै हो। मुख्य पेसा र परिवारपछि समय मिल्दा दौडनु नै ठीक आदत हो।
दौडमा पनि अनुशासन कायम हुनुपर्छ।मैले यही अनुशासनमा बसेर दौडँदा हालसम्म कुनै दिन खुट्टामा समस्या भोग्नु परेको छैन। पहिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार बिस्तारै दौडने गर्नुपर्छ। दौडन नसके नियमित हिँड्ने गर्नाले पनि राम्रो व्यायाम हुन्छ।
कसरी सुरुवात गर्ने नियमित दौड?
दौड सुरुवात गर्ने प्रस्थान विन्दु भनेको जुत्ता, टिसर्ट, ट्राउजर या सर्टमा थोरै खर्च गरेर आफूले आफैंलाई उपहार प्रदान गर्ने हो। दौडको रेकर्ड राख्ने मोबाइल एप स्ट्राभा, रन ट्रयाकर वा अरु कुनै डाउनलोड गर्ने। धावकहरूको संजालसहितको स्ट्राभा एपमा आफ्ना साथीहरूलाई पनि जोडेर थप प्रेरणा लिन सकिन्छ।यसले कुन गतिमा कति दौडिएको भन्ने पनि बताउँछ।
सुरुको दिनबाट नै दौडन जानु हुँदैन। पहिलो हप्ता थोरै व्यायाम गर्ने र दिनको १० मिनेटबाट हिँड्न सुरु गर्ने। प्रतिदिन ५ मिनेट बढाएर ३० मिनेट हिँड्ने। पहिलो चार हप्ता हिँड्ने मात्र गरेपछि शरीर दौडको लागि तयार हुन्छ।
त्यसपश्चात पहिलो हप्तादेखि ५ किमि दौडने योजना बनाउने। पहिलो दिन सहज गतिमा १ किमि दौडने। बाँकी ४ किमि हिँड्ने। क्रमशः सहजताको आधारमा दौडको दूरी बढाउने। आफुले राखेको दौडको लक्ष्य सकिएपछिको स्वर्गीय आनन्द, अनि त्यसपश्चात कागती पानी या चिसो पानी पिउँदाको मजा बयान गरेर साध्य हुँदैन।
दौडमा ध्यान दिनु पर्ने मुख्य कुरा भनेको आफ्नो रक्तचाप र अन्य कुनै समस्याबारे जानकार हुनु हो। त्यस्तो समस्या भए सजग भएर शरीरलाई धेरै मार नपर्ने गरी दौडने।दौडमार्फत नयाँ शारीरिक समस्या बढाउन हैन, शारीरिक तन्दुरुस्तीका लागि दौडने हो।
(बेलायत निवासी कार्की प्राध्यापन सेवामा छन्।)