काठमाडौं- स्वास्थ्य कार्यालय जाँदै गर्दा बाटोमा बच्चा जन्माउन पुगेकी बाजुरा स्वामीकार्तिक गाउँपालिकाकी कात्तिका विकलाई राहत प्रदान गरिएको छ।
घटना सार्वजनिक भएसँगै सामाजिक अभियन्ता एवम् युवा नेतृ रिता शाहीले विकको घरकै पुगेर राहत वितरण गरेकी छन्।
आर्थिक स्थिति निकै कमजोर भएकी विक प्रशुतिका लागि स्वास्थ्य कार्यालय जाँदै गर्दा बाटैमा सुत्केरी भएकी थिइन।
छैंटौं सन्तान पाएकी विकका तीन सन्तानहरुको अकालमै मृत्यु भइसकेको छ। घटनाको ययार्थ विवरण नबुझि घटनालाई अतिरञ्जित गरेको भन्दै स्थानीयहरुले स्वास्थ्यकर्मीहरुको बचाउ गरेका छन्।
बच्चा बाटोमै पाइसकेपछि स्वास्थ्य संस्था नगई घर फर्किएको र स्वास्थ्यकर्मीहरु स्वयम् आएर बच्चाको नाभी काट्नका लागि ब्लेड समेत दिएर गएको स्थानीयको भनाइ रहेको छ। सुत्केरीको अवस्था बुझ्न स्वास्थ्यकर्मीहरु पटक पटक विकको घरमा आइरहेको उनीहरुले बताएका छन्।
विकलाई अभियन्ता शाहीको पहलमा अष्ट्रेलिया बस्ने दीपा भण्डारी, हङकङ बस्ने अनिता लिम्बु, काठमाडौंमा बस्ने एक युवा व्यवसायीले राहत प्रदान गरेको शाहीले बताएकी छन्।
शाहीका अनुसार, महिना दिनलाई पुग्ने दाल, चामल, नुन, मसलाका साथै आमा र बच्चालाई लत्ताकपडा सहित नगद १५ सय रुपैयाँ प्रदान गरिएको छ।
कात्तिकाले बाटैमा बच्चा जन्माएको घटना सार्वजनिक भएपश्चात गाउँपालिका अध्यक्ष भरत रोकायाले तत्काल राहत स्वरुप गाउँपालिका मार्फत खाद्यान्न सहयोग गरेका थिए। अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।