काठमाडौं- ह्याम्स अस्पतालमा शल्यक्रिया (छाती नचिरी) नगरी काठमाडौंका एक ७४ वर्षीय पुरुषको मुटुको भल्भ फेरिएको छ।
अस्पतालका चिकित्सक डा ज्योतीन्द्र शर्मा, डा यादव देव भट्ट, डा रवि बराल, डा मुकुन्द शर्मा, डा मुरारी राज उप्रेती र डा सुरज लामिछाने लगायतका टोलीले आइतबार छाती नचिरी खुट्टाको रगत नलीबाट क्याथेटर छिराएर मुटुको 'एओर्टिक भल्भ'प्रत्यारोपण गरेका हुन्।
भारतमा बिना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण गर्दै आएका नेपाली चिकित्सक डा अमित चौरसियाको सहयोगमा ह्याम्स अस्पतालमा पहिलो पटक शल्यक्रिय नगरी मुटुको भल्भ प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
भल्भ प्रत्यारोपण गरेका ती ७४ वर्षीय पुरुषको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
छाती नचिरी मुटुको भल्भ प्रत्यारोपण गर्ने यो प्रक्रियालाई चिकित्सकिय भाषामा ‘ट्रान्सक्याथेटर एओर्टिक भल्भ ट्रान्सप्लानटेसन’ (टाभी) भनिन्छ।
ह्याम्स अस्पतालका मेडिकल निर्देशक डा ज्योतीन्द्र शर्माका मुटुको बायाँतर्फको भल्भ साँघुरिएका कारण स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुष उपचारका लागि अस्पताल आएका थिए।
उपचार गर्ने टिममा बितिका अधिकारी, शान्ता सिंह ठकुरी, श्वेता कुवंर, चुनकुमारी पृुन, गृष्मा अर्याल, अजय यादव, अविनाश गुप्ता, शारदा बतास, महेन्द्र भट्ट, यमबहादुर कुमाल, प्रकाश तुलाधर, सिर्जना कार्की, देवी राना र जुनु श्रेष्ठ पनि सभागी थिए।
यसअघि गंगालाल अस्पतालमा पनि यस्तो प्रक्रियाबाट उपचार भएको छ।